कोरोना संक्रमणबाट संसारभर ९२ हजार उपचारपछि घर फिर्ता, ११ हजार चार सय १७ जनाको मृत्यु, दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने

एजेन्सी । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार चार सय १७ जनाको मृत्यु भएको छ । यो संख्या दिनहुँ बढ्दो क्रममा छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार नौ सय ५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म एक सय ७६ भन्दा बढी देशमा देखा परिसकेको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार दुई सय ५५ व्यक्तिको मृत्यु भएको छ । ८१ हजार जना सङ्क्रमित भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी वुहान सहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।

हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा चार हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो छ । हाल ३७ हजार आठ सय ६० जना सङक्रमित रहेको इटालीमा पाँच हजार एक सय २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार चार सय ३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४६६ जना सङक्रमित छन् । ६ हजार सात सय ४५ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८९० जना सङक्रमित छन् । शनिबार प्राप्त समाचार अनुसार एक हजार पाँच सय ८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ । १९ हजार ६ सय जना सङक्रमित रहेका छन् । उपचारपछि एक सय ८० जना घर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा दुई सय ७५ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार तीन सय ५२ जना सङक्रमित रहेका छन् । एक सय ४७ जनाको उपचार गरिएको छ । फ्रान्समा चार सय ५० जनाको मृत्यु भएको छ । हाल १० हजार पाँच सय ७५ जना सङक्रमित छन् । दक्षिण कोरियामा दएक सय दुई जनाको मृत्यु भइसकेको छ । ६ हजार ८५ जनामा अझै सङ्क्रमण छ ।

कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा एक सय ७७ जना, नेदरल्याण्ड्समा एक सय ६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कम्तीमा दुई सय ७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन ुजनता कफ्र्युु लागू गर्न र घरबाहिर कोही पनि ननिस्कन आह्वान गरेको छ ।

दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जनामा सङ्क्रण देखिएको छ ।

नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन् । नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् ।

दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्य सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार जानकारी गराएका छन ।

सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनका लागि भारतको राजधानी नयाँ दिल्ली क्षेत्रमा प्रतिबन्ध लगाइएको उनले बताए ।

मुख्यमन्त्री केजरीवालले भिडियोमार्फत् सार्वजनिक सन्देशमा भने, ुहामीले कुनै ठाउँमा भेला हुने व्यक्तिको सङ्ख्यामाथि पुनरावलोकन गर्दै नयाँ निर्णय सार्वजनिक गरेका छौँ । अबदेखि अर्को निर्णय नहुँदासम्म राजधानी दिल्लीमा पाँच व्यक्तिभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन ।ू