भारमा फैलँदै कोरोना, नेपालमा उच्च सतर्कता जरुरी

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस खुला सिमाना भएको छिमेकी मुलुक भारतमा दिनैपिच्छे फैलँदो गतिमा छ ।
भारतले कोरोना संक्रमण रोक्न हरसम्भव प्रयत्न जारी राखे पनि सिस्थित झन खराब हुँदै गएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सरकारी स्तरदेखि सामाजिक क्षेत्रबाट समेत कोरोना संक्रमण रोक्नका लागि युद्धस्तरमा काम भइरहेको छ ।

दिल्ली, पटना, राजस्थान, पञ्जाबलगायतका सहरलाई लकडाउन (बन्द)गरिएको छ । र पनि कोरोनाका बिरामीको संख्या बढ्दै गएको बताइएको छ । आइतबार मात्रै पुरा भारतमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । महाराष्ट्र, गुजरात र बिहारमा एक एक जनाको मृत्यु भएको हो ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आइतबार मात्रै ४५ जना नयाँ संक्रमित भेटिएका भारतीय आयुर्वेदिक अनुसन्धान परिषद (आईसीएमआर)ले उल्लेख गरेको छ । परिसदका अनुसार हालसम् मभारतमा संक्रमितको संख्या ३ सय ९६ पुगेको छ । आइतबारसम्म १८ हजार १ सय २७ को नमुना लिइएको छ ।

संक्रमितमध्ये ४१ विदेशी
भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालय र राज्य स्वास्थ्य विभागका अनुसार संक्रमितमध्ये ४१ जना विदेशी नागरिक भएको बताइएको छ । २४ जना अहिलेसम्म निको भएर घर फर्किएका छन् । कारोनाका कारण महाराष्ट्रमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । बिहार र गुजरातमा आइतबार पहिलोपटक एक एक जनाको मृत्यु भएको छ । बिहारको एम्समा ३८ वर्षका पुरुषको मृत्यु भएको हो । उनी हालै कतारबाट फर्किएको बताइएको छ ।

अन्य राज्यमा पनि फैलँदै
राजस्थानमा २४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जसमा दुई विदेशी पनि छन् । तेलंगानामा ११ विदेशीसमेत २१ जनामा संक्रमण देखिएको छ । हरियाणामा १४ जना विदेशीसहित संक्रमितको संख्या १७ पुगको छ । कर्नाटकमा २६ जनामा संक्रमण फैलिएको छ । पंजाबमा सात नयाँ संक्रमितसहित २१ ज्नामा कोरोना संक्रमण देखिएको छ । दद्दाखमा १३, गुजरातमा १८, तमिलनाडुमा दुई विदेशीसहित ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपाल जोखिममा
छिमेकी मुलुकका प्राय सहरहरुमा कोरोनाको संक्रमण बढिरहेको बेला त्यहाँ काम गर्ने र अन्य शिलशिलामा गएका नेपाली घर फर्किएका छन् । आउने क्रम जारी छ । महेन्द्रनगर र धनगढीको नाकाबाट एकै दिन ९५ हजार नेपाली नेपाल भित्रिएका छन् । तर त्यस क्षेत्रमा कोरोनाको संक्रमण नाप्ने प्रविधिको अभाव छ । त्यसैले पनि उनीहरुलाई स्थानीय सरकारले उच्च सतर्कता अपनाएर सेल्फ क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्न जरुरी छ ।

घर फर्कनेहरुले पनि आफूमाथि आशंका भएको खण्डमा केही समय छुट्टै बसेर वा स्थानीय सरकारको सहयोग लिएर आफू र आफ्नो परिवार सुरक्षित बनाउन सबैभन्दा ठूलो मानवीयता र राज्यका लागि सहयोग ठहरिने देखिएको छ ।