सीमानाका, बजार र सडक सुनसान

कञ्चनपुर । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि कञ्चनपुर बजार बन्द गरिएको छ । पश्चिमी सीमानाका गड्डाचौकी, कैलालीको गौरीफन्टा सुनसान बनेको छ । सरकारले सोमबारदेखि भारत र चीनसितको सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेसँगै यहाँ चहलपहल बन्द भएको हो ।

नाका बन्दबारे जानकारी नभएका यात्रुको स्वस्थ्य परीक्षण गरेर मात्र गन्तव्यतर्फ जान दिइएको छ । यात्रु गड्डाचौकीबाट पाँच किलोमिटर वरको भीमदत्तनगरसम्म हिँडेरै आइरहेका छन् । गड्डाचौकी बजार पूर्ण रुपमा बन्द छ । सीमानामा सुरक्षा सतर्कता बढाइएको छ । स्वास्थ्यकर्मीको टोली बिहानैदेखि सेवा प्रदान गरिरहेको छ ।

यस्तै कैलालीको धनगढी, अत्तरिया बजार पनि सुनसान भएको छ । मुख्य धनगढी, अत्तरिया, कन्चनपुरको महेन्द्रनगरसमेत सुनसान छ । सरकार, स्थानीय प्रशासन र उद्योग बाणिज्य संघले अत्यावश्यक सेवा बाहेक बन्द गर्न अपिल गरेपछि यस क्षेत्रका सम्पूर्ण बजार बन्द भएका हुन ।

पूर्व–पश्चिम राजमार्गमा सर्वसाधारण पैदल नै गन्तब्यतर्फ लागेका देखिन्छ । ठाउँ ठाउँमा प्रहरी टोलीले अनावश्यक रुपमा घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले गएराति १२ बजेदेखि लागू हुने गरी यहाँको बजार, व्यापार, व्यवसाय, कलकारखानालगायत बन्द गर्ने निर्णय गरेको थियो ।

गड्डाचौकी क्षेत्रको स्थलगत अनुगमन तथा अन्य बजार क्षेत्रको अवस्था बुझ्न नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरधी बालकृष्ण कार्की भीमदत्तनगर आइपुगेका छन् ।