स्वास्थ्य मन्त्रीको पत्रकार सम्मेलनलाई लिएर सर्वत्र बिरोध

काठमाडौं । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनलाई लिएर सर्वत्र बिरोध गरिएको छ । सरकार आफैले कोेरोना भाइरसको जोखिमबाट बच्न २५ जना भन्दा बढी एक ठाउँमा भेला हुन नपाउने निर्देशन जारी गरेका बेला मन्त्रालयले कोचाकोच पत्रकार बोलाएर गरेको पत्रकार सम्मेलनलाई लिएर बिरोध बिरोध भएको हो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज गरेको पत्रकार सम्मेलनमा १०० जना भन्दा बढी पत्रकार उपस्थित थिए । पत्रकार सम्मेलन स्थलमा कोचाकोचको अवस्था देखिएको थियो ।

पत्रकारहरुले नै मन्त्रालयमा यस्तो संवेदनशिल अवस्थामा भिडभाड नगरौ, यो सूचना प्रेस विज्ञप्तिबाटै पनि दिँदा हुन्छ भने पनि मन्त्रीले नसुनेको गुनासो पत्रकरहरुले नै गरेका छन् । हेल्थ टुडेका सम्पादक पदमराज जोशीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘खै कुन्नी, हाम्रा मन्त्रीज्युलाई भिडियोमा देखिनै पर्ने रहर लागेको हो की ? बुझ्नै सकिएन । हामीलाई त सरकारले सम्झाउने हो, यिनलाई कसले सम्झाउने ?’

त्यस्तै पत्रकार महासंघका महासचिवले ‘पत्रकार सम्मेलन बन्द गरौँ, सामाजिक सञ्जा, सञ्चार माध्यम वा प्रेस विज्ञप्तिमार्फत सूचना प्रवाह गरौँ’ भनेर सुझाव दिएका छन् । सामाजिक सञ्जालमा जी भट्टले पनि स्वास्थ्य मन्त्रीको पत्रकार सम्मेलनको बिरोध गरेका छन् । लेखक तथा सञ्चारकर्मी सुदर्शन आचार्यले पनि व्यंग्य गर्दै लेखेका छन्, ‘२५ जना भन्दा कम जमा भएर गरिएको पत्रकार सम्मेलन ।

स्ट्याटसमा देखिएको आक्रोसले सरकारभन्दा आम जनता अझ सञ्चारमाध्यम बढी संवेदनशील भएको देखाउँछ । त्यसैले विपदको घडीमा नियम पालना गराउने निकायले नै नियम मिच्नु थप संकटलाई निमन्त्रण गर्नु हो भन्ने देखाउँछ ।