‘जुनुको जुत्ता’ फेस्टिभलमा छनौट

काठमाडौं । विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६ औं संस्करणमा नेपाली फिल्म छनौटमा परेको छ । केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता’ ओवरहउसेनको २०२० को संस्करणमा छनौट भएको हो ।

विश्वभरीबाट आवेदन गरेको ६५ सयभन्दा बढी फिल्मबाट उत्कृष्ट एक सय फिल्म छनौट हुँदा एसियाबाट १९ औँ फिल्म छनौटमा परेको छ । जसमा यसपटक नेपालको चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेको फिल्म ‘जुनुको जुत्ता’ छनौट भएको हो ।

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा जर्मनी प्रतिष्पर्धा बाहेक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एक सय फिल्म छनौट गरिन्छ । जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनौट भएको हो ।

सिंगापुर फेस्टिभलमा पनि ‘जुनुको जुत्ता’
त्यस्तै अर्को प्रतिष्ठित महोत्सव ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा पनि ‘जुनुको जुत्ता’ छनौट भएको छ । ‘बिग आइज बिग माइन्डस्’ नामले चिनिने यस फेस्टिभलको दशौं संस्करणमा ‘जुनुको जुत्ता’ लाइभ–एक्सन सर्ट फिल्म विधा अन्तर्गत छनौट भएको हो ।

कोरोना प्रभाव
आउँदो मे १३ देखि १८ सम्म हुने ६६ औं फेस्टिभल ओवरहउसेन २०२० को निर्धारित मिति विश्वभरी महाभारीको रुपमा फैलिएको कोभिढ १९ को कारण हाललाई स्थगित गरिएको छ । ओवरहउसेनले अनलाइनमार्फत फेस्टिभल आयोजना गर्ने वा अर्को मिति तय गर्ने विषयमा निर्णय लिदैछ ।