साउदी अरब: कोरोनाबाट बच्न सिंगो देशमा कफ्र्यू

एजेन्सी । साउदी अरबमा सोमबार बेलुकीदेखि देशभरि कफ्र्यू लगाइएको छ । स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कफ्यु आगमी २१ दिनसम्म कायम रहने अधिकारीहरूले जनाएका छन् ।

साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यूको घोषणा गर्न परेको स्पष्ट पारेका छन् ।

साउदी राजा सल्मानले जनहितका लागि कफ्र्यू पालना पूर्णरूपमा गर्न पनि आह्वान गरेका छन् । राजाको तर्फबाट राजदरवारले जारी गरेको वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्नेतर्फ उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

खाडी मुलुक साउदी अरबमा सोमबारसम्म ५११ जना सङ्क्रमित भेटिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई भने कफ्र्यू आदेश लागू नहुने वक्तव्यमा उल्लेख गरिएको छ ।