सुनसान काठमाडौँ

काठमाडौं । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो ।

सरकारको घोसणासँगै यहाँको जीवन ठप्प भएको छ । केही अत्यावश्यक सेवामा संलग्न बाहेक कोही पनि घरबाट निस्किएका छैनन । नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।

‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चारकर्मीले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यकाका सडकमा एकदमै कम मात्रामा सवारी साधन चलेको जनाएको छ । लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।