लकडाउन अवज्ञा गर्ने ४७ सवारीसाधन नियन्त्रणमा

पाल्पा । लकडाउन घोषणा गरेको बेला अनुमतिविना सञ्चालन गरिएका सवारीसाधनलाई पाल्पामा प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न भन्दै सरकारले एक जिल्लादेखि अर्को जिल्लासम्मको सिमानामा समेत निगरानी गर्न आदेश दिएको छ ।

सरकारले अत्यवाश्यकीय कामभन्दा अन्य प्रयोजनका निम्ति सवारी साधन चलाउन रोक लगाउँदा अटेरी गर्नेलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको हो । प्रहरीले आज रामपुरमा ३२ मोटरसाइकल, नौ स्कुटर, दुई ट्रयाक्टर तथा चार ट्रक नियन्त्रणलाई लिएको प्रहरी प्रमुख भीमबहादुर कार्कीले जानकारी दिए ।

उनले चालकलाई भने सम्झाइबुझाई फर्काएको बताए । प्रहरी प्रमुख कार्कीका अनुसार पाल्पाको रामपुरदेखि सिमाना जोेडिएका स्याङ्जा तथा तनहुँ र नवलपरासीको सीमा क्षेत्रमा प्रहरी परिचालन गरेर अन्य जिल्लाबाट अति आवश्यकबाहेकका मानिसलाई समेत आवातजावतमा रोक लगाइएको छ ।

लकडाउनको समयमा घरमै सुरक्षित रहन अनुरोध गर्दागर्दै अवज्ञा गरी मोटरसाइकल चलाएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रित मोटरसाइकललाई प्रहरी बिट बेझाड बजारमा राखिएको छ ।