महामारीको जटिल अव्थाबाट आफू जोगिन र अरुलाई जोगाउन अपिल

डडेल्धुरा । कोरोना भाइरसको महामारीबाट विश्वमा जटिल अवस्था उत्पन्न भएकाले यस्तो अवस्थामा आफू, आफ्नो परिवार र सम्पूर्ण समुदायलाई जोगाउन परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउले बिनम्र अपिल गरेका छन ।

अहिलेसम्म कोरोनाको प्रभाव परशुराम नगरपालिकामा नपरेको भए पनि मानसिक र सम्भावित संक्रमणबाट जोगिन सरकार, स्थानीय प्रसासन र स्थानीय सरकारले गरेको अपिल मानिदिन उनले आग्रह गरेका छन ।

दुई पेज लामो सार्वजनिक अपिल सार्वजनिक गर्दै मेयरले यस्तो बेलामा आफू र आफ्नो परिवारको सरसफाईमा ध्या दिन र घरमै बस्न आग्रह गरेका छन ।

उनले नगरपालिकाले भ्याएसम्म सम्भावित संक्रमण नियन्त्रण र उपचारका लागि तयारी गरेको पनि जनाएका छन ।

संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नगरको श्रोतले भ्याएसम्म कुनै कसर बाँकी नराखिने पनि उनले जनाएका छन । उनले जोगबुडा अस्पताल, साँदनी स्वास्थ्य चौकीमा आइसोलेसन कक्ष, परशुराम रंगमैदान भवन, रेडक्रस भवन, त्रिवेणी बहुमखी क्याम्पस, शिबशंकर मावि साँदनी, सीताराम माविको प्रावि शाखा कुर्मुल्ले, वडा नम्बर ४ वडा कार्यालय र कालिका प्रावी, परशुराम प्रावी परिगाउँलगायतका क्षेत्रमा उपचारको व्यवस्था मिलाइएको मेयर साउदद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नगरले निजी क्षेत्रसमेतको सहयोगमा अत्यावश्यक उपभोग्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था मिलाएको पनि जनाएको छ ।

अपिलमा भनिएको छ, ‘सबै नगरबासीको इच्छाशक्ति, उच्च मनोबल, आपसी एकता, सहयोग, सहकार्य र नियमको पालनाले कोरोना भाइसर बिरुद्धको लडाइमा सपलता मिल्ने विश्वास छ ।’