अलपत्र परेकाको उद्धारपछि क्वारेन्टाइनमा

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले अलपत्र परेका सात जनालाई उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । भारतबाट आएर कञ्चनपुरमा अलपत्र परेका गाउपालिका–१ घर भएकी खिमा दमाईसहित उनका चारजना छोराबुहारी, दुई नातिनातिनालाई उद्धार गरेको गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले जानकारी दिए ।

भारतबाट आएका उनीहरु चैत ९ गते कञ्चनपुर छोरीको घर पुगेका थिए । छोरीले घरमा बस्न नदिएपछि अलपत्र परेको खबर पाएपछि उनीहरुलाई कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ बाट उद्धार गरिएको अध्यक्ष मल्लले बताए ।

अहिले उनीहरुलाई गाउँपालिकाद्वारा निर्मित सरस्वती मावि भत्काँडामा रहेको क्वारेन्टाइनमा राखिएको छ । सबैलाई सुरक्षितसाथ क्वारेन्टाइनमा राखी खाने बस्नेको पूर्ण प्रबन्ध मिलाइएको गाउँपालिका–१ का अध्यक्ष चेतराज भट्टले जानकारी दिए ।