विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३१ हजार ८ सय बढीको मृत्यु, एक लाख ४५ हजार निको भए, ६ लाख ८१ हजार संक्रमित

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजार आठ सय ८२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ८१ हजार नाघेको छ ।

प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १० हजार २३ जनाको मृत्यु भएको छ । केही दिनयता यहाँ ज्यान गुमाउनेको संख्या बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिएको छ । इटालीमा हालसम्म ९२ हजारभन्दा बढी नागरिकमा कोरोनाको संक्रमण देखिइसकेको छ ।

त्यसैगरी स्पेनमा ज्यान गुमाउने नागरिकको संख्या पाँच हजार नौ ८२ जना पुगेको छ । स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो ।

यता संयुक्तराज्य अमेरिकामा विश्वमै सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देश बनेको छ । यहाँ अहिलेसम्म १ लाख २४ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार दुई सय २९ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी अमेरिकी राज्य न्यूयोर्कमा बढी देखिएको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार तीन सय जनाको मृत्यु भएको छ भने त्यहाँ ८१ हजार चार सय ३९ जना सङ्क्रमित छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई हजार पाँच सय १७ जनाको मृत्यु भएको छ । हाल ३५ हजार चार सय आठ जना सङ्क्रमित छन् ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण चार सय ५५ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ५८ हजार भन्दा बढी मानिस सङक्रमित छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण दुई हजार तीन सय १४ जनाको मृत्यु भएको छ ।

बेलायतमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका एक हजार १९ जनाको ज्यान गएको छ । यहाँका १७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन् ।

युरोपेली अन्य मुलुकहरुमा पनि कोरोनाभाइरसको संक्रमण बढ्दै जानुका साथै मृतकको संख्या पनि बढेको छ । आवतजावत र अत्यावश्यक बाहेक अरु बेला नागरिकलाई घरबाहिर निस्कन हतोत्साहित गरेको भए पनि भूसको आगोजसरी कोरोना भाइरसले युरोपेली मुलुकहरुलाई आक्रान्त बनाएको छ ।

कोरोनाभाइरस सङ्क्रमणका कारण नेदरल्यान्ड्समा ६ सय ३९, बेल्जियममा चार सय ३१, स्वीट्जरल्यान्डमा दुई सय ६४, टर्कीमा एक स आठ, स्वीडेनमा एक सय पाँच, पोर्चुगलमा सय जनाको मृत्यु भइसकेको छ ।

दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमणका कारण एक सय ५२ जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट अष्ट्रिया, नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएको छ । नेपालमा आजसम्म पाँच जनामा यो संक्रमण देखिएको छ ।