कोरोना कहर कायमै, विश्वभर करिब ३४ हजारको मृत्यु, सबैभन्दा बढी संक्रमित अमेरिकामा, इटालीको अवस्था भयावह

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कारोना भाइसरका कारण संसारभर ७ लाख २३ हजार तीन सय १९ जना संक्रमित भइसकेका छन । ३३ हजार नौ सय ९७ जनाले मृत्युवरण गरिसकेका छन् । एक लाख ५१ हजार ९ सय ९१ जना उपचारपछि निको भएर घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन सात सय ५६ नागरिकको ज्यान गएको छ । इटालीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात सय ७९ नाघेको समाचार एजेन्सीहरुले जनाएका छन । सोमबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ ।

चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ । यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रही आएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु ९७ हजार ६ सय ८९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।

यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म एक लाख ४२ हजार एक सय ७८ नागरिक सङ्क्रमित भएको समाचारमा जनाइएको छ । अमेरिकामा दुई हजार चार सय ८४ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूत गतिमा सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् ।

स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या ६ हजार आठ सय तीन जना पुगेको छ । यहाँ सङ्क्रमण हुनेहरु ८० हजार एक सय १० पुगेका छन् । यहाँ १४ हजार सात सय नौ नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभर सात लाख २३ हजार तीन सय १९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३३ हजार नौ सय ९३ नागरिकको ज्यान गएको छ । सोमबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये एक लाख ५१ हजार ९ सय ९१ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार तीन सय चार जनाको मृत्यु भएको छ भने त्यहाँ ८१ हजार चार सय ७० जना सङ्क्रमित रहेका छन् । यसैबीच ७५ हजार सात सय व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा यस सङ्क्रमणका कारण दुई हजार ६ सय ४० जनाको मृत्यु भएको छ । हाल ३८ हजार तीन सय नौ जना सङ्क्रमित रहेका छन् । १२ हजार तीन सय ९१ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण पाँच सय ४१ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६२ हजार चार सय ६५ जना सङक्रमित रहेका छन् । यहाँका नौ हजार २११ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण दुई हजार ६ सय ६ जनाको मृत्यु भएको छ । सोमबारसम्म यहाँ ४० हजार एक सय ७४ सङ्क्रमित रहेका छन् । यहाँका सात हजार २० नागरिक उपचारपछि घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण तीन सय व्यक्तिको मृत्यु भएको छ । १४ हजार आठ सय २९ सङ्क्रमित छन् । एक हजार पाँच सय ९५ जना भने उपचारपछि घर फर्किएका छन् ।

नेडरल्याण्डमा यस सङ्क्रमणबाट सात सय ७१ व्यक्तिको मृत्यु भएको छ । १० हजार आठ सय ६६ सङ्क्रमित छन् । २५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बेल्जियममा सङ्क्रमणको कारण चार सय ३१ व्यक्तिको मृत्यु भएको छ । १० हजार आठ सय ३६ सङ्क्रमित छन् । एक हजार तीन सय ५९ जना भने उपचारपछि घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण एक सय ५८ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ६ सय ६१ सङ्क्रमित छन् । पाँच हजार दुई सय २८ उपचारपछि घर फर्किएका छन् ।

टर्कीमा एक सय ३१ को मृत्यु भएको छ । नौ हजार दुई सय १७ सङ्क्रमित छन् । अष्ट्रियामा ८६ मृत्यु हुनुको साथै आठ हजार सात सय ८८ सङ्क्रमित भएका छन् ।

ब्राजिलमा यस सङ्क्रमणबाट एक सय ३६ मृत्यु हुनुको साथै चार हजार दुई सय ५६ सङ्क्रमित भएका छन् । स्वेडेनमा कोरोना भाइरस सङ्क्रमणबाट एक सय १० मृत्यु हुनुको साथै तीन हजार सात सय सङ्क्रमित छन । पोर्चुगलमा सङ्क्रमणबाट एक सय १९ मृत्यु भएको छ । पाँच हजार नौ सय ६२ सङ्क्रमित भएका छन ।

क्यानाडामा सङ्क्रमणबाट ६५ को मृत्यु भएको छ । छ हजार तीन सय २० सङ्क्रमित छन । सङ्क्रमणबाट डेनमार्कमा ७२ जनाको मृत्यु हुनुको साथै दुई हजार तीन सय ९५ सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट जापानमा ५४ मृत्यु भएको छ । एक हजार आठ सय ६६ सङ्क्रमित छन् । भारतमा २९ जनाको मृत्यु भएको छ । एक हजार २४ सङ्क्रमित भएका छन । कोरोना भाइरस सङ्क्रमणबाट पाकिस्तानमा १४ को मृत्यु भएको छ । एक हजार पाँच सय ९७ सङ्क्रमित छन ।

यस महामारीबाट नर्वेमा २६, अष्ट्रेलियामा १७, इजरायलमा १५, मलेसियामा ३५, आयरल्याण्डमा ४६, चिलीमा ७, पोल्याण्डमा २२, रोमानियामा ४३, थाइल्याण्डमा ७, सिङ्गापुरमा ३, रुसमा ८, पेरुमा १८ को मृत्यु भएको छ । नेपालमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण देखिएको छ । बाहिरबाट आएकाहरुमा देखिएको यो संक्रमणपछि एक जना उपचारपछि निको भएर घर फर्किएका छन ।