स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन काँग्रेसको सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसले कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न सरकारलाई सुझाव दिएको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोनमार्फत कोरोना भाइरस नियन्त्रण, न्यूनीकरण एवं उपचारका लागि सरकारले ल्याएको स्वास्थ्य उपकरण तथा सामग्री यथासिघ्र सबै प्रदेश र जिल्लामा पु¥याउन सुझाव दिएका थिए ।

उनले देशभरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणका लागि थप गुणस्तरीय र प्रभावकारी सामग्रीको यथाशीघ्र व्यवस्था गर्नुपर्ने सुझाव दिएको काँग्रेस संसदीय दलले जनाएको छ ।

प्रमुख सचेतक खाँणले निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराई कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउनुपर्ने बताए । त्यसक्रममा स्वास्थ्यमन्त्री ढकालले प्रमुख सचेतक खाँणलाई नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्री आज बिहानबाट वितरण भइरहेको र साँझसम्म सबै प्रदेशमा वितरण हुने र प्रदेशबाट सबै जिल्लामा वितरण हुने प्रतिवद्धता व्यक्त गरेको संसदीय दलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

थप स्वास्थ्य उपकरण तथा सामग्री चैत २१ गतेसम्म नेपाल आइपुग्नेसमेत मन्त्री ढकालले जानकारी दिएको र निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि कोराना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा सहभागी गराउने प्रक्रिया भइरहेको जानकारी गराएका थिए ।