पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइ क्वारेन्टाइन बाहिर

पाँचथर । पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइभन्दा बढी मानिस क्वारेन्टाइन तथा होम क्वारेन्टाइनभन्दा बाहिर रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

विदेशमा तथा यात्राका क्रममा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने आशङ्कामा चैत महिनाभित्र नेपाल आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने भनिए पनि पाँचथरमा त्यस्ता करीब ३३ प्रतिशत मानिस कुनै पनि प्रकारको क्वारेन्टाइनमा नरहेको तथ्याङ्कले देखाएको छ ।

भारत सहित अन्य विदेशी मुलुकबाट आएका मानिस तथा उनीहरुको परिवारका सदस्य क्वारेन्टाइनमा नरहँदा कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने सम्भावना बढेको छ । साथै ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलिने भयसमेत सिर्जना भएको छ ।

कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा प्रतिकार्य जिल्ला समन्वय समितिको सोमबार साँझसम्मको तथ्यांकनुसार चैत शुरु भएयता एक सय ४९ जना विदेशबाट यहाँ आएका छन् । आएकामध्ये ५४ जना क्वारेन्टाइनमा बसेका छन् भने ३५ जना होम क्वारेन्टाइनमा छन् ।

तीन जना आइसोलेशनमा तथा चार जना मोरङको मिक्जालुङमा रहेको क्वारेन्टाइनमा छन् । बाँकी सरकारी निकायको सम्पर्कभन्दा बाहिर छन् । उनीहरुले सतर्कता अपनाए÷नपनाएको तथा कोरोना भाइरसबारे सचेत रहे÷नरहेको प्रष्ट छैन् ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न नसक्नु चिन्ताको विषय भएको बताए ।