ओली, देउवा, रावल, भट्ट र सुदूरपश्चिमका माननीयलाई एक सुदूरेलीको वजनदार पत्र

० नरेश अवस्थि अल्पविराम

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासमा विश्व छ । नेपाल पनि यसबाट अछुतो छैन । पाँच जनामा यो संक्रमण देखिइसकेको छ । यतिबेला मुलुक लकडाउनको अवस्थामा छ । अझै पनि  यसको रोकथामका लागि प्रयाप्त प्रयास हुन बाँकी नै छ । देशका सातै प्रदेशमा कोरोना परीक्षणको व्यवस्था हुन सकेको छैन । उपचारका लागि भ्यान्टिलेटर सहितका अस्पताल छैनन ।

अझ सुदूरपश्चिम कोरोनाको परीक्षण र उपचारको अवस्थाबाट निकै पछि देखिन्छ । जबकी हजारौँ मानिस भारतबाट यही प्रदेशमा भित्रिएका छन । यस्तो अवस्थामा पनि जनताका अभिभावक प्रधानमन्त्री केपी शर्मा ओली, सुदूरपश्चिमकै सन्तान प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका प्रभावशाली नेता भीम रावल, मन्त्री लेखराज भट्ट, यस क्षेत्रका माननीय र प्रदेश सरकारलगायतले विशेष चिन्ता नगरेकोप्रति ध्यानकर्षण गराउँदै कैलालीको धनगढी ११ अम्बिकाटोल घर भई दार्चुलामा कार्यरत नरेश अवस्थीले लेखेको पत्र  प्रकाशित गरिएको छ । विपदको यो घडीमा पत्रको उद्देश्य ध्यानाकर्षण गराउने मात्र रहेको हो :-

सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू ,
सम्माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू,
माननीय पूर्वमन्त्री भीम रावल ज्यू ,
माननीय मन्त्री लेखराज भट्ट ज्यू ,
सम्पूर्ण सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्नुहुने माननीय ज्यूहरु ,

म जस्तो सामान्य हैसियत भएको, आजसम्म कुनैपनि राजनीतिक दलमा आबद्ध छैन । राजनीतिमा कुनै पनि व्यक्ति आफ्नो नभएको परिपेक्ष्यमा मजस्तो मान्छेले हजुरहरुलाई सिधै खुल्लापत्र लेख्न त नमिल्ला । तर पनि अहिलेको यो महामारीको बेला मैले यस्तो दुस्साहस गरेकोमा सर्वप्रथम क्षमा गरिदिनुहोला ।

मन अनि नै आत्तियो र रोक्न सकेन, मनभरीका पीडाहरु । अनि मनमा अनेकौँ डर त्रास उत्पन्न भए । राज्यको पहुँचबाट धेरै टाढा अति दुर्गम मेरो सुन्दर सुदूरपश्चिमका यी गरिब र पहुँच नभएका नागरिकको मनका पीडा र दर्दहरु केही हदसम्म भएपनि लेख्न बाध्य भएँ ।

सुदूरका माननीय ज्यूहरु,

पुरै विश्व जगत अहिले कोरोना भाइरसको महामारी र संक्रमणको भुमरिमा परेर चुनौतिपूर्ण संघर्ष गरिरहेको छ । यो दुखद घडि सबैमा जानकारी नै छ । यदि व्यस्तताका कारण हाम्रा सुदूरका माननीयहरुलाई थाहा छैन भने अब यो पत्रमार्फत जानकारी हुने छ भन्ने पूर्ण बिश्वस्त छु । कोरोनाका कारण विश्वभर कुल ३७ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन । लाखौँ मानिसहरु अस्पतालको सैयामा छट्पटाइरहेका छन । विश्वका ठूला भन्न चाहने देश (अमेरिका, इटाली, स्पेन, चीन, जापान) जुन स्वास्थ्य विज्ञानमा आफूाई सर्वोत्कृष्ट मान्दथे, ती देशहरुले हामी पराजित भयौँ भनेर हात उठाउने अवस्थामा छन । कोरोना भाइरससंगको लडाइमा तिनको चिकित्सा विज्ञानले काम गरिरहेको छैन ।

हाम्रो उत्तरी छिमेकी मुलुक दुर्इ महिनाको लामो लकडाउनपछि हिजो अस्तीबाट मात्रै ब्युझिरहेको छ । दक्षिणी छिमेकी मुलुक भारतमा ३२ जनाले ज्यान गुमाईसकेका छन । १२ सय भन्दा बढी संक्रमितहरु अस्पतालमा उपचार गराई रहेका छन ।

हाम्रो देशमा पनि पाचँ जना संक्रमित भेटिएको, कयौं मानिस क्वारेन्टाइनमा रहेका र अन्य कैयौँलाई आइसोलेसनमा राखेर स्वाव नमुना परीक्षणका लागि काडमाडौं पठाएका खबर म दार्चुलामा बसेर सुनिरहेको छु । पढिरहेको छु । आईसोलेसनमा राखेका चार जना व्यक्तिको कोरोनाको रिपोर्ट नआउँदै हिजो र अस्ति मात्रै मृत्यु भएको खबर सार्वजनिक भएको छ।

हाम्रो सुदूरपश्चिममा तथा देशभरि रहेका सबै सिमानाका केहिदिन अगाडिबाट मात्रै पूर्ण रुपमा आवतजावत बन्द गरिएको छ । यहाँहरु सबैजनालार्इ अवगत नै भएको कुरा हो । हामी सुदूरेलीहरुको मुख्य श्रम गन्तव्य छिमेकी मुलुक भारत नै हो । जुन कुराको ज्वलन्त उदाहरण हाम्रा माननीय मुख्यमन्त्री ज्यू स्वयम हुनुहुन्छ ।

तर भारतबाट फर्किएका केही बाहेक सबैजना गाँउ फर्कीसकेपछि गाउँमा खुल्ला रुपमा घुमफिर गरिरहेका खबरहरु बाहिर आएबाट हाम्रो सुदूरपश्चिम कोरोनाको पूर्ण जोखिममा रहेको कुरा सहजै अनुमान गर्न सकिन्छ । उच्च जोखिममा रहेका समाचारहरु पनि बाहिर नआएका होनन् । जुन कुरालार्इ विश्व स्वास्थ्य संगठनले समेत सचेत गराइसकेको छ ।

अहिलेसम्म खबर सार्वजनिक भए अनुसार एक जना कोराना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा छन । बैतडी, अछाम, डडेल्धुरा र कैलालीलगायतका जिल्लामा कोरोनासंग मिल्दाजुल्दा लक्षण भएका संकास्पद बिरामी विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । यस बाहेक त्यस्तो अप्रिय समाचारहरु बाहिर नआउनु भाग्यको कुरा हो ।

तर स्थिति यही ढंगले अगाडि बढ्ने हो भने सुदूरका बस्तीहरुले अप्रिय घट्ना व्यहोर्नु पर्दैन भन्ने अवस्था छैन । यदि यस्तै प्रकारले लापरवाही गरियो भने सुदूरमा भयाबह स्थिति सिर्जना हुनसक्ने छ । हजारौं मानिस भारतबाट घर फर्केका छन, जुन क्वारेन्टाइनमा नबसी सिधै आआफ्नो घर गएका छन । जसको ज्वलन्त उदाहरण अस्ति भर्खर मात्रै धनगढीको गौरिफन्टा नाका र महेन्द्रनगरको गड्डाचौकि नाकाबाट उद्धार गरिएका व्यक्तिहरु हुन् ।

सुदूरका माननीय ज्यु,
यहाँहरुलाई मेरो प्रश्न, विगट सुदूरपश्चिममा कोरोना संक्रमितको लक्षण भएका व्यक्तीले त्यसको परीक्षण गराउन धरान जाने कि काठमाण्डौं ? तपाईं माननीय ज्युहरुलाई महोत्सव, बाथरुम, दशैँमा पिङ समेत उद्घाटन गर्न नेपाली सेना र राज्यको ढुकुटीबाट हेलिकप्टर चाहिने तर हामी सुदूरेली गरिबहरु राज्यको पहुँचबाट टाढा रहेका जनता विश्व महामारी कोरोना भाईरसबाट मर्दै गर्दा पनि आवश्यक उपचार गर्न र कोरोना परीक्षणको लागि नमुना काठमाडौं पठाउँदा हेलिकप्टर नपाउने किन ? आफ्नै प्रदेशमा ल्याबको उपलब्धता नहुने किन ? लकडाउनको बेला काठमाडौं नमुना पठाउनुपर्ने बाध्यता किन ? तपाईहरुले के हेरेर बस्नु भयो ? वा हाम्रो जनप्रतिनिधि भएर के गर्नुभयो ? वा के गर्दै हुनुहुन्छ ?

यस्तो विश्व महामारीको समयमा नबोल्ने, सुदूरमा आवश्यक उपचार सामाग्री पनि उपलब्ध नगराउने तपाईं माननीयहरुको के काम ? नेपालको संविधानको धारा ३५ मा व्यवस्था भएको स्वास्थ्य सम्वन्धी हकको व्यवस्थाले हामी सुदूरपश्चिमेलीलार्इ गरेको स्वास्थ्य सम्बन्धी समान पहुँचको व्यवस्था के यहि हो ?

हामीले बिरामी हुँदा नेपालग‌न्ज उपचार गरायौँ, काठमाण्डौमा उपचार गरायौँ, भारतका विभिन्न शहर बरेली, दिल्ली धायौँ । आफ्नो प्रदेशमा भरपर्दो मेडिकल कलेज तथा अस्पताल नै नभएर हामी यसरी बाहिर गएर उपचार गराउन बाध्य भयौँ । तर हामीले कयौँ प्रकारका भनाइ सुन्नुपर्यो, अपमान सहनुपर्यो, दुःख कष्ट सहनु पर्यो, सह्यौ ।

हामीलार्इ अरु प्रदेशका मानिसले सधैं प्रश्न गरे, तपार्इहरु त लोकेन्द्र, देउवा, भिमरावल, लेखराज जस्ता नेताहरु भएको ठाँउको मान्छे, तपार्इहरुकोमा गतिलो अस्पताल छैन है ? मेडिकल कलेज छैन है ? हामी सहजै हाम्रो भौगोलिक जटिलताका कारणले र हाम्रा नेताहरुलार्इ राज्यले आफ्नो ठाँउमा काम गर्न स्रोत साधन नै दिँदैन भनेर बचाउ गरेर नै जवाफ दिने गर्थ्यौ ।

तर सवैलाई थाहा हुन्थ्यो कि चन्द, देउवा, रावल र भट्ट जीले सुदूरपश्चिमका लागि कति गरेका छन भन्ने कुरो । अझै यहि दुःख पीडा कहिलेसम्म भोग्नुपर्छ ? सुदुरबासीले । हेक्का रहोस् ठिकै छ हामी अभाव सहन्छौ, दुःख सहन्छौँ र बाचेछौँ भने तपाइहरुलाई भोट दिएर पुःन काठमाडौँ पठाउने छौँ । तपाईंहरु ठूला ठूला महलहरु जोड्दै जानुहोला । एसी कोठाहरुमा आनन्दको निन्द्रा निदाउनु होला । करोडौंका गाडी चढ्नु होला । तर कोरोनाले तपाईँ र हामी छुट्याउने बुद्धि राख्नैन भन्ने हेक्का होस ।

प्रिय नेता ज्युहरु,

हामीलाई सकिन्छ भने सुदूरपश्चिममै कम्तिमा दार्चुला, अछाम, बैतडी र कैलालीमा कोरोना परीक्षण गर्ने गरि अस्थाइ रुपमा नै भए पनि प्रयोगशालाको व्यवस्था गर्ने प्रबन्ध मिलाइदिनुहोस । कैलाली जिल्लाको सेती प्रादेशिक अस्पताल धनगढीमा निर्माण हुने जुन हिजोको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ त्यो छिट्टै निर्माण होस् । सुदरुरका मन्त्रीले कोरोना भाइरसको लागि अर्को बर्ष बजेट झुट्याउछौँ भने जस्तै नहोस्त, पाइहरुलार्इ बिन्ती गर्छु ।

मेरो भुगोलका मान्छेहरु न काठमाडौं आउने हैसियतमा छन, नत धरान नै जान सक्छन । न त तपाईंहरुजस्तो करोडको निजी गाडि चडने गर्छन । न देख्न पाएका छन । मेरा सुदूरेलीहरुका तपाईँहरु जस्तो राजधानीमा घर पनि त छैनन । माटोले बनाएका घरहरु टाढा टाढाका बस्तीहरु, राज्यको सेवा सुविधाबाट सँधै विमुख भएर बाँचिरहेका जिन्दगीहरु, कामको खोजिमा भारतका गल्ली गल्ली चहारिरहेका जिन्दगीहरु, यही हो सुदूरेलीहरुको दैनिकी । जुन कुरो सायद तपाईँहरु ले नभोग पनि अवगत भएकै कुरो हो । र, अहिले बिर्सनु भए पनि हाम्र सुदूरका प्रदेशप्रमुख ज्युले त भोगेको पनि हो ।

त्यसैले यस विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीको यस त्रासपूर्ण घडीमा तपाईँहरु लाई हाम्रो सुदूरपश्चिममा पनि कोरोना भाइरसको परिक्षण गर्ने व्यवस्था छिटोभन्दा छिटो मिलाइदिन हुन अनुरोध गर्दछु । अस्पताल र अस्पतालमा भ्यान्टिलेटरको व्यवस्था गरिदिन पहल गर्न आग्रह गर्दछु । किनकि तपाईँहरुका भोटर हामी सुदूरपश्चिमेली संक्रमित भएमा हाम्रो स्वाब परीक्षणको रिपोर्ट काठमाडौंबाट आउँदासम्म बीचैमा ज्यान गइसक्ने अवस्था नरहोस ।

प्रिय नेता ज्यूहरु,

हामी सुदूरपश्चिमेली जबसम्म रहन्छौँ तबसम्म मात्रै तपाईँहरु पनि कर्णाली तर्दै सुदूर छिर्नुहुनेछ । जहाँ छिर्दा तपाईँको छाती पनि मेरो जस्तै जन्मभूमीको माया अनि गर्वले फुल्छ होला । यदि हामी सुदूरेली नै नरहेमा हाम्रा बस्तीहरु कोरोना भाइरसको महामारीले रित्ता भएमा अन्तिमपल्ट हाम्रो मृत्युको खबर सञ्चारमाध्यमले तपाईँहरु को कानमा फुक्ने छन । जुन बेला पश्चताप पनि ढिला भइसकेको हुनसक्छ । यति भन्दै अहिलेलाई मेरो कलम यहीँ रोक्ने अनुमति चाहन्छु ।