निजी अस्पतालको लाइसेन्स खारेज गर्नुपर्छः मेयर वड

धनगढी । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको त्रास र संक्रमणले यतिबेला नेपाल पनि आक्रान्त छ । देशै लकडाउनको अवस्थामा रहेका बेला हरेक क्षेत्र र पक्षले आ आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका छन र गर्नुपर्ने बेला पनि यही हो ।

धनगढीका कारोना संक्रमणका बिरामी पुष्टि भएपछि यस क्षेत्रमा कोरोनाको त्रास झन फैलिएको छ । सामान्य बिरामी र रुघाखोकीका बिरामी पनि त्रसित  छन । उपचार र चेकजाँचका लागि अस्पताल पुग्दा भने धनगढी उपमहानगरपालिका भित्र रहेका कम्तिमा ११ वटा निजी क्षेत्रबाट सञ्चालित अस्पताल भने केही आंसिक र केहीले पूर्ण रुपमा सेवा बन्द गरेका छन । यसको चाप सेती प्रादेशिक अस्पतालमा परेको छ ।

विपदका बेला निजी अस्पतालले पनि कोरोनाको आशंकाका बिरामीलाई सेवा प्रदान गर्नुपर्ने मेडिकलको धर्म पुरा गर्नुपर्ने बेला सेवा बन्द गरेकोप्रति धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले आक्रोस व्यक्त गरेका छन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्वारा आज धनगढीमा आयोजित छलफल कार्यक्रममा मेयर वडले आक्रोस मात्रै पोखेनन समस्या पर्दा सेवा नदिने निजी अस्पतालको लाईसेन्स नै खारेज गर्नुपर्ने बताएका छन ।

विपद्को समयमा सेवा नदिने अस्पताल, फार्मेसी र स्वास्थ्यका सामान आहोरदोहोर गर्नेहरुको लाइसेन्सका बारेमा सोच्नुपर्ने बेला आएको मात्रै बताएनन, कार्यक्रममा सहभागी मन्त्रीलाई इंगित गर्दै भने, ‘३६५ दिन सामान ओहोर दोहोर गर्ने, अस्पतालमा बिरामी जाँच्नेले विपदको बेला सेवा उपलब्ध गराउन नसक्ने हुन्छ ?’ भन्दै प्रश्न मात्रै गरेनन, उनले पहिलो दिन देखि नै सेनिटाइजर, मास्क नभएको भनिएको स्मरण गर्दै भने, ‘किन छैन, के कारोबार नै भएन ?’ उनले अहिलेको अवस्था सामान्य भएपछि यसबारेमा सोच्नुपर्ने पनि बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल तोकेको छ । सिमित जनशक्ति साधन स्रोत उपलब्धताको कमीका कारण अस्पतालमा भनेजस्तो सेवा उपलब्ध हुन नसकेको गुनासो सेवाग्राहीले गर्दै आएका छन ।