बैतडीमा विपन्नलाई खाद्यान्न

बैतडी । अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहतस्वरूप बैतडीको दोगडाकेदार गाउँपालिका–४ को कार्यालयले निःशुल्क खाद्यान्न वितरण गरेको छ । लकडाउनले मजदुरी गर्न नपाएपछि छाक टार्नै मुस्किल भएका वडाभित्रका ४४ परिवारलाई मङ्गलवार खाद्यान्न वितरण गरिएको हो ।

उनीहरु सबैलाई गरेर १० क्विन्टल ८० किलो चामल वितरण गरिएको हो । कोभिड–१९ को सतर्कतास्वरूप सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गरी खानेहरुलाई छाक टार्न समस्या भएपछि खाद्यान्न वितरण गरिएको वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए ।

कम्तीमा १५ दिन पुग्ने गरी परिवार सङ्ख्याका आधारमा चामल वितरण गरिएको उनले बताए । बुधबार पनि वडामा बाँकी रहेका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने उनले बताए ।

यस्तै डिलाशैनी गाउँपालिका–५ मा भारतबाट आएका छ जनालाई गाउँपालिकाले निर्माण गरेको क्वारेनटाइनमा राखिएको छ । अन्य तीन जना होम क्वारेन्टाइनमा बसेको वडा सदस्य जयदेव जोशीले जानकारी दिए । नुभयो ।

विपन्नको तथ्याङ्क सङ्कलन

दशरथचन्द नगरपालिकाले दैनिक मजदुरी गरेर छाक टार्ने परिवारको तथ्याङ्क सङ्कलन गर्ने कार्य शुरु गरेको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै लकडाउन भएपछि मजदुरी गरेर खाने वर्गलाई समस्या परेकाले उनीहरुलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले तथ्याङ्क सङ्कलन कार्य मङ्गरबारदेखि शुरु भएको नगर उपप्रमुख मीना चन्दले जानकारी दिइन ।

चैत २० गतेसम्म ११ ओटै वडामा दैनिक मजदुरी गरेर खाने वर्गको तथ्याङ्क सङ्कलन गरिसकिनेछ । उनले भनिन, ‘तथ्याङ्क सङ्कलनपश्चात मजदुरी गरेर खाने परिवारलाई खाद्यान्न वितरण गर्छौँ, चार जनासम्म सदस्य भएको परिवारलाई १० केजी र सोभन्दा बढीसदस्य भएको परिवारलाई १५ केजीका दरले चामल वितरण गरिनेछ ।’