स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । बजार दरभाउभन्दा चार गुना महंगोमा मेडिकल सामाग्री गरिद गरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले अख्तियारमा उजुरी दिएका छन ।

पौड्यालले अख्तियारको वेबसाइट मार्फत स्वास्थ्यमन्त्री विरुद्ध उजुरी दिएका हुन् । मिडियामा र आम नागरिकले प्रश्न उठाउँदा पनि स्वास्थ्यमन्त्री अनि प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शंका उब्जाएको विवेकशील नेपाली दलको भनाइ छ ।

पौडेलले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका सात करोड भन्दा बढीको मुल्यका र्‍यापिड टेस्टिङ किट किनेको कुरा पनि मिडियामा आइसकेकाले छानबिनका हुनुपर्ने मागसहित उजुरी हालेका हुन ।

उजुरीका बुँदागत तथ्य
० बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको
० तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको
० आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको
० मेडिकल सामाग्री सप्लाईको अनुभव नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको
० वाणिज्य विभागमा दर्ता नै नभएको कम्पनीको कोटेशन स्वीकृत गरेको
० विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको,
० यस अघिका ठूला भ्रष्टाचार काण्डहरू (वाइड बढी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदि) मा जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्ग प्रसाद ओलीले यो काण्डमा पनि स्वास्थ्य मन्त्रीको बचाउने गरि अभिव्यक्ति दिएको ।