निजी अस्पतालका सञ्चालकहरुले भनेः राज्यलाई हस्तान्तरण गरिदिन्छौँ

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले यस क्षेत्रका निजी अस्पताल, फार्मेसीलगायत सप्लायर्सले कोरोना भाइरसको महामारीमा सहयोग नगरेको धारणा एक सार्वजनिक कार्यक्रममा राखेलगत्तै निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरसको उपचारका लागि अस्पताल राज्यलाई हस्तान्तरण गर्न आफूहरू तयार भएको बताएका छन ।

कारोनाको संक्रमण फैलिरहेका बेला सुदूरपश्चिम पनि जोखिममा परेकाले आफूहरुका अस्पताल आवश्यक परे राज्यलाई हस्तान्तरण गर्न तयार भएको निजी क्षेत्रका संचालहरुले बताएका छन ।

प्राइभेट अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष तथा कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले प्रदेश सरकारलाई आवश्यक परे संकटको बेलासम्मका लागि निजी अस्पताल हस्तान्तरण गर्न तयार रहेको बताए । उनले यससम्बन्धमा प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय भइरहेको पनि दावी गरे ।

‘महामारीको अवधिभर राज्यलाई साधनस्रोत हस्तान्तरण गर्न तयार छौँ,’ उनले भने, ‘अधिका‌ंश निजी अस्पतालमा आकस्मिकलगायतका सेवाहरू सञ्चालनमै छन ।’ जोशीले  सञ्चालित कैलालीका निजी अस्पतालले कोरोनाको महामारी रहुन्जेल सेवामा २० प्रतिशत छुट दिने समेत बताए ।