भारतमा अलपत्र नेपालीको बिचल्ली, २२७ भारतीय क्वारेन्टाइनमा, दिल्लीस्थित दूतावासले वास्ता गरेन

कोरोनाबाट बच्न स्थानीय सरकारको चिठ्ठी 

बैतडी । कारोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण भारतका विभिन्न शहरमा नेपाली अलपत्र परेका छन । यसरी अलपत्र परेकाहरुको बिचल्ली भएको छ । कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएसँगै भारत सरकारले लकडाउन गरेपछि चार सय नेपाली नागरिक अलपत्र परेको बताइएको छ ।

अलपत्र परेका नेपाली भारतको दिल्लीमा बिचल्लीमा परेको बैतडीको दोगडाकेदार–८ कालागाँउका डम्बर बिष्टले जनाएका छन । उनीहरु अधिकांश सुदूरपश्चिमका रहेका छन । भारतको बैंग्लोरबाट घर फर्किन हिंडेका बैतडीका ५० जना १० दिनदेखि दिल्लीमा अलपत्र परेको बिष्टले जानकारी दिए । ‘बैंग्लोरबाट रेलमा चढेर आउँदा आउँदै दिल्ली पुग्दा लकडाउन भयो, रेल बन्द भयो,’ उनले भने, ‘लकडाउनले सवारी बन्द हुँदा बाटोमै अलपत्र परेका हौँ ।’

लकडाउनमा भारतीय प्रहरीले देख्ने बितिक्कै लखेट्ने गरेको उनको दुःखेसो छ । खान बस्नकै समस्या भएको उनले बताए । भारतस्थित नेपाली राजदूतावासमा उद्धारका लागि गुहारेको भए पनि कुनै वास्ता नभएको दोगडाकेदारकै अर्का वीरेन्द्र विष्टले बताए । ‘दूतावासलाई पनि नेपालसम्म पुर्याउन आग्रह गरिसक्यौँु, उनले भने, ुअलपत्र परेको १० दिन भइसक्दासमेत केही कुनै पहल भएन ।’ उनीहरुले आफूहरुको उद्धार गरिए १४ दिनसम्म क्वारेन्टाइनमा बस्न तयार भएको बताएका छन् ।

उता, चार दिनदेखि सीमामा अलपत्र परेका नेपाली मजदुरहरुलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण सीमानाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जनाएका छन ।

झुलाघाटस्थित तालेश्वरमा रहेको धर्मशालामा ५७ र खरक्युडा, जामीरपानी र रज्यौडामा रहेका आधारभूत विद्यालयहरुमा एक सय ७० गरेर दुई सय २७ जना मजदुरलाई क्वारेन्टाइनमा राखिएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए । ती सबै मजदुरको स्वास्थ्य परीक्षण गरिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । मुख जिल्ला अधिकारी पौडेलले अर्को आदेश नभएसम्म सीमानाका खोल्न नसकिने बताएका छन ।

लकडाउनका बेलाले आआफ्नो ठाउँमा सुरक्षित बस्नुपर्ने भएकाले सीमानाका नखुल्दासम्म मजदुरहरुलाई नेपाल भित्र्याउन नसकिने उनले बताए ।

कोरोनाबाट बच्न स्थानीय सरकारको चिठ्ठी 

बैतडीको सुर्नया गाउँपालिकामा कोरोना भाइरस रोकथाम तथा बच्नका लागि प्रत्येकको घरमा चिठ्ठी दिइने भएको छ । गाउँपालिकाको वडा नं ३ मा रहेको कोरोना नियन्त्रण तथा समन्वय समितिले यस्तो निर्णय गरेको हो ।

समन्वय समितिका संयोजक तथा गाउँपालिका–३ का वडाअध्यक्ष दिलाराम भट्टका अनुसार वडाभित्र रहेका सम्पूर्ण घरपरिवारलाई कारेनाबाट बच्ने उपायका बारेमा सचेतनामूलक चिठ्ठी पठाइने भएको हो ।

बुधबार बसेको समन्वय समितिको बैठकले बिहीबारदेखि घरदैलो कार्यक्रम गर्दै प्रत्येक घरमा चिठ्ठीका साथै साबुन पनि दिइने निर्णय गरेको हो। घरदैलोसँगै भारत तथा अन्य मुलुकबाट आएका नागरिक, अति विपन्न, ज्याला मजदुरी गर्ने तथा बेसहाराको तथ्याङ्क सङ्कलनको काम पनि हुने जनाईएको छ ।

बुधबार वडा नं ३ का सात ओटै टोलका १४ परिचालकलाई चिठ्ठी र साबुन वितरण गर्न ४५० चिठ्ठी तथा ४५० साबुन वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष लिला बिष्टले बताए।