धनगढीमा कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना संकलन

धनगढी । धनगढीमा उपचाररत कोरोना सङ्क्रमित युवकको परिवारका सदस्यको परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । दुई स्वास्थ्यकर्मी र कोरोना सङ्क्रमित परिवारका सदस्यसहित १३ जनाको नमूना संकलन गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

संकलित स्वाबको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने अस्पतालको आकस्मिक विभागले जनाएको छ । सङ्क्रमितका परिवारका सदस्याको नमूना संकलन गर्न जरुरी नदेखिएको भन्दै यस अघि नमूना संकलन गरिएको थिएन । सङ्क्रमित धनगढीका ३४ वर्षीय पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बुधबारसम्म पाँच स्वास्थ्यकर्मीसहित ३९ जनाको स्वाब नमूना परीक्षणका लागि पठाइएकामा एक जनामा पोजेटिभ, २५ मा नेगेटिभ देखिएको र अन्य १३ को रिपोर्ट आउन बाँकी रहेकोे अस्पतालले जनाएको छ । सरकारले कारोनाको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालका लागि पठाएको पोर्टेबल पिसिआर मेसिनको जडान भइरहको छ । यो उपकरणबाट नमूनाको परीक्षण शुरु गरिएपछि यस अघिसम्म नमूना जाँचका लागि काठमाडौँ पठाउनुपर्ने समस्या समाधान हुने छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाभरि विभिन्न ठाउँमा बुधबारसम्म ३५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाको शङ्कास्पद सात जनालाई आइसोलेसनमा राखिएको छ । अहिलेसम्म आइसोलेसनबाट १९ जना उपचारपछि घर फर्किएका छन ।