कोरोना रोकथाम कोषमा मेगा बैंकको १ करोड ३५ लाख

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा एक करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ र सातैवटै प्रदेशले स्थापना गरेको कोषमा पाँच–पाँच लाख गरी सहयोग गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मेगा बैंक सञ्चालक समितिले उक्त सहयोग गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ । सहयोग रकम केन्द्रीय र प्रदेश सरकारको कोषमा जम्मा गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन ।

सिइओ खुञ्जेलीका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गर्ने यो सहयोग रकम भित्र मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीका साथै सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्ने बताएकी छिन् ।

यसअन्तर्गत सहायक तहका कर्मचारीले दुई दिनको तलब, अधिकृत तहका कर्मचारीले ३ दिनको तलब, प्रबन्धक तहका कर्मचारीले ४ दिनको तलब र उच्च व्यवस्थापन तहले ५ दिनको तलब बराबरको रकम करिब ३० लाख ८७ हजार प्रदान गर्ने बताइएको छ । त्यसै गरी सञ्चालक समितिका प्रत्यक सदस्यले २५ हजार सहयोग गर्दै एक लाख ७५ हजार रुपैयाँ प्रदान गर्नेछन् ।

‘कोरोना भाइरस संक्रमणको रोकथाम, त्यसको नियन्त्रणका साथै उपचारका लागि देशव्यापी रुपमा केन्द्रीय सरकार र प्रदेश सरकारले चालिरहेको अभियानमा ऐक्यबद्धता जनाउन हामीले यो सहयोग गरेका हौं, यो खतरनाक भाइरसको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने हाम्रो कामना छ,’ सिइओ खुञ्जेलीले भनिन ।

विपद्को बेलामा राज्यलाई व्यक्तिगत सहयोग गर्ने बैंकका सम्पूर्ण कर्मचारीहरु, बैंक कर्मचारी युनियन लगायत सञ्चालक समितिलाई उनले आभार व्यक्त गरेकी छिन ।

ग्राहकको विश्वास जितेर अघि बढिरहेको मेगा बैंकले यो संकटपूर्ण अवस्थामा सतर्कता अपनाउन आफ्ना ग्राहकलाई आग्रह समेत गरेको छ । बन्दाबन्दीको समयमा पनि ग्राहकको हितलाई ध्यानमा राख्दै देशभरका विभिन्न शाखाहरुबाट बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।