लकडाउनका मे गरुन किसानः भैंसीको दूध भैंसीलाई खुवाउन बाध्य

कास्की । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरकोका कारण देशव्यापी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषक समस्यामा परेका छन् ।

लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिस गाउँ फर्किएको र बजार सुनसान भएका कारण दूध खपत हुन छाडेको छ । उत्पादन भएको दूध गाइभैँसीलाई नै खुवाउनुपर्ने बाध्यता आएको किसानले गुनासो गरे ।

अठार वर्षदेखि व्यावसायिकरूपमा भैँसीपालन गर्दै आएका बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गाप्रसाद पौडेलले दैनिक सय लिटर बढी दूध खेर गएको दुःखेसो गरे । १७ वटा भैँसी पालेका वरदान पशुपक्षी फार्मका सञ्चालक पौडेलले दुई सय ५० लिटर बढी दूध उत्पादन हुने गरेकामा खपत घटेपछि दूधलाई व्यवस्थापन गर्न समस्या आएको बताए ।

बिहान उत्पादन भएको दूधमध्ये दैनिक ८० लिटर बजारमा ल्याएर बिक्री गर्ने गरे पनि बाँकी सय लिटर बढी दूध दैनिक खेर जाने गरेको उनले बताए । ‘केही दूघ कुराउनी, पनिर बनाएर सदुपयोग गर्ने कोसिस गरेको छु, त्यो पनि बिक्री गर्न मुस्किल हुन्छ, बिक्री नहुने दूधलाई पाडापाडी र भैँसीलाई नै खुवाउने गरेको छु’, पौडेलले भने ।

किसानहरुले आफूले उत्पादन गरेको दूध बजारमा डेरीमा प्रतिलिटर साय र फुटकरमा एक सय २० रुपैयाँमा बिक्री गर्दै आएका छन् । व्यावसायिक गाईभैँसी पालन गर्दै आएका अर्थुङ्गेका किसान कमल पौडेलले उत्पादन भएको आधाभन्दा बढी दूध खेर फाल्नुपर्दा घाटा व्यहोर्नुपरेको बताए ।

बेनी बजार आसपासका किसानले दैनिक उत्पादन गर्ने दूधको ६० प्रतिशत उत्पादन खेर गएको बेनी नगरस्तरीय एकता दुग्ध उत्पादक तथा गाईभैंसी स्रोत केन्द्र विकास समितिका अध्यक्ष जीवनप्रसाद पौडेलले बताए ।