गण्डकी र सुदूरपश्चिम प्रदेशलाई मेगा बैंकद्वारा पाँच पाँच लाख सहयोग हस्तान्तरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई पाँच पाँच लाख सहयोग हस्तान्तरण गरेको छ ।

मेगा बैंक सञ्चालक समितिले केन्द्र सरकारलाई एक करोड र हरेक प्रदेशलाई पाँच पाँच लाख सहयोग गर्ने निर्णय अनुसार, गण्डकी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो ।

मेगा बैंक गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई पाँच लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन । यसैगरी, मेगा बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख सागर ओझाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पाँच लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन ।

मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकार र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा सहयोग गर्ने निर्णय गरेअनुसार अन्य प्रदेशहरुमा पनि क्रमशः रकम हस्तान्तरण गरिने मेगा बैंकले जनाएको छ ।

मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गरेको यो सहयोगमा सञ्चालक समितिका सदस्यदेखि मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीहरुले पनि व्यक्तिगत योगदान गरेका छन् ।