कोरोना महामारीः विश्वमा ५४ हजार २२६ को मृत्यु , १० लाख ३० हजार ५७० संक्रमित, अमेरिकामा परालको आगो झैं फैलँदै संक्रमण

एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ५४ हजार २२६ पुगेको छ । यसको संक्रमण १० लाख ३० हजार ५७० जनामा फैलिएको समाचार एजेन्सीहरुले जनाएका छन । संक्रमित मध्ये दुई लाख २० हजार ३१ जना निको भएका छन ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’ भनिसकेको छ । कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराएका छन ।

यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनले बताए । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैंकले प्रक्षेपण गरेको छ

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकमध्ये इटालीमा एक लाख १५ हजार २४२ कुल सङ्क्रमितमध्ये १३ हजार ९१५ को मृत्यु भएको छ ।यहाँ १८ हजार २७८ निको भएर फर्किएका छन् ।

स्पेनमा एक लाख १२ हजार ६५ कुल सङ्क्रमित भएका छन् भने, १० हजार ३४८ को मृत्यु भएको छ । स्पेनमा २६ हजार ७४३ निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा दुई लाख ४५ हजार ३७३ कुल सङ्क्रमित भएका छन् । यहाँ ६ हजार ९५ को मृत्यु भएको छ । अमेरिकामा १० हजार ४०३ निको भएका छन ।

फ्रान्समा ५९ हजार १०५ कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ३८७ को मृत्यु भएको छ । १२ हजार ४२८ निको भएका छन् । चीनमा ८१ हजार ६२० कुल सङ्क्रमित भएका मध्ये तीन हजार ३२२ को मृत्यु भएको छ । ७६ हजार ५७१ निको भएका छन् ।

इरानमा ५० हजार ४६८ कुल सङ्क्रमित भएकामा तीन हजार १६० को मृत्यु भएको छ । १६ हजार ७११ निको भएर फर्किएका छन् । बेलायतमा ३३ हजार ७१८ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ९२१ को मृत्यु भएको छ । यहाँ १३५ निको भएर फर्किएका छन् ।

नेदरल्यान्ड्समा १४ हजार ६९७ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ३३९ को मृत्यु भएको छ । देदरल्यान्ड्मा २५० जना निको भएर फर्किएका छन् । जर्मनीमा ८४ हजार ७९४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार १०७ को मृत्यु भएको छ ।

बेल्जियममा १५ हजार ३४८ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ११ को मृत्यु भएको छ । यहाँ २ हजार ४९५ निको भएका छन् ।