धनगढीमा तीन घण्टा पसल खुल्ने, महिलालाई छुट्टै क्वारेन्टाइन

धनगढी । शनिबारबाट धनगढी उपमहानगरपालिकामा अतिआवश्यकभित्र पर्ने खाद्यान्न, तरकारी र दुग्धजन्य व्यवसाय तथा पसल तीन घण्टा मात्र खुल्ने भएका छन् । शुक्रबार बसेको सरोकारवालाको बैठकले शनिबारबाट लागू हुने गरी अतिआवश्यकभित्र पर्ने पसल बिहान ६ देखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिएका छन ।

खाद्य उद्योग निरन्तररूपमा सञ्चालन गर्न दिने र यस्ता उद्योगका कामदारलाई आवतजावतका लागि स्थानीय सरकारसँग समन्वय गर्न सकिने नगरप्रमुख वडले बताए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ग्राहकसँग सामाजिक दूरी तीन फिट कायम गर्न अनुरोध गरिएको छ । दैनिक उपभोग्य सामग्रीको ‘होमडेलीभरी’ गर्न चाहने व्यवसायीलाई भने स्थानीय सरकारसँग समन्वय गरेर कारोवार गर्न दिने निर्णय भएको छ । यस्तै बैठकले मोटरसाइकल सञ्चालनमा पूर्णरूपमा रोक लगाउनेसमेत निर्णय भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

महिलालाई छुट्टै क्वारेन्टाइन

उपमहानगरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टाइन कक्ष स्थापना गरेको छ । उपप्रमुख सुशीला मिश्र भट्टका अनुसार धनगढीमा रहेको बी पोलिटेक्निक इन्स्टिच्युटमा २२ श्ययाको महिला क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । महिला र पुरुषको छुट्टाछुट्टै आवश्यकताका आधारमा महिला क्वारेन्टाइन कक्षको व्यवस्था गरिएको बताइएको छ । महिलाका लागि बनाइएको क्वारेन्टाइन विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार तयार गरिएको उपप्रमुख भट्टले बताउनुभयो ।