कोरोना कहालीः संसारभर ५९ हजार २२१ को मृत्यु, ११ लाख १७ हजार संक्रमित, अमेरिका सबैभन्दा बढी प्रभावित

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट संसारभर ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार २२१ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि ११ लाख १८ हजार ३२९ भाइरसबाट सङ्क्रमित भएको र दुई लाख २९ हजार २४५ निको भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणलाई ‘विश्वव्यापी महामारी’ भनिएको छ । कोरोना भाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती भएको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराइसकेका छन ।

यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनले बताएका छन । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरिसकेको छ ।

अहिलेसम्मकै बढी मृत्यु इटालीमा भएको छ । इटालीमा कम्तिामा १४ हजार ६८१ को मृत्यु भएको छ । यहाँ १ लाख १९ हजार ८२७ संक्रमित छन भने । हालसम्म १९ हजार ७५८ निको भएका छन ।

त्यसपछि उच्च मृत्यु स्पेनमा भएको छ । स्पेनमा ११ हजार १९८ को मृत्यु भएको छ भने १ लाख १९ हजार १९९ संक्रमित र १३ हजार ५१३ निको भएका छन ।

अमेरिका मृत्युका हिसाबले तेस्रो देखिए पनि संक्रमणका दृष्टिले संसारकै उच्च संक्रमण भएको देश बनेको छ । यहाँ ७ हजार ४०२ को मृत्यु भएको छ भने २ लाख ७७ हजार ४७५ संक्रमित भएका छन । अमेरिकामा हालसम्म १२ हजार २८३ जना निको भएका छन ।