प्रदेश १ र २ लाई मेगा बैंकद्वार पाँच, पाँच लाख हस्तान्तरण

काठमाडौं । केही दिन अघि मेगा बैंक नेपाल लिमिटेडले घोषणा गरेको कोरोना भाइरस रोकथामका लागि प्रदेश १ र २ लाई पाँच पाँच लाख हस्तान्तरण गरेको छ ।

मेगा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई चेक हस्तान्तरण गरेका हुन ।

यसैगरी, मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेक यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मेगा बैंक सञ्चालक समितिको निर्णय अनुसार, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको हो । मेगा बैंकले केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा पाँच–पाँच लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।