कारोनाबाट विश्वभर करिब ६५ हजारको मृत्यु, अमेरिकामा मात्रै तीन लाख संक्रमित

एजेन्सी । कोरोना भाइरसको महामारीमा विश्व जगत रुमल्लिएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर यो भाइरसको संक्रमणबाट करिब ६५ हजारको मृत्यु भइसकेको छ । करिब १२ लाखभन्दा बढी मानिस यो संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । आजसम्म दुई लाख ४६ हजार मानिस निको भएर घर फर्किएका छन ।

कोरोनाको संक्रमणबाट संसारकै शक्तिशाली भनिएको देश अमेरिका सबैभन्दा बढी आक्रान्त बनेको छ । अमेरिकाको अवस्था दिनदिनै बिग्रँदै गएको समाचार माध्यमहरुले जनाएका छन । अमेरिकामा आजसम्म आठ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तीन लाखभन्दा बढीमा यो संक्रमण फैलिसकेको समाचार एजेन्सीहरुले जनाएका छन । न्यूयोकर्ममा मात्रै २४ घन्टामा ६३० भन्दा बढी मानिसको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदा दुई हप्तामा कोरोनाबाट बढ्नेको संख्या अझै बढ्ने बताएका छन ।

नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक भारतमा पनि यो संक्रमणले रफ्तार लिइरहेको छ । हालसम्म ३३ सय ७४ जनामा संक्रमण देखिएको छ भने ७७ जनाको मृत्यु भएको सरकारी तथ्यांक सार्वजनिक भएको छ । १२ घन्टामा ३०२ जनामा संक्रमण फैलिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म २६७ जना निको भएका छन । नेपालमा आइतबार विहानसम्म नौ जनामा यो संक्रमण देखिएको छ । एक जना निको भएर घर फर्किएका छन ।