निराशालाई आसामा बदल्न प्रकृतितर्फ फर्कौँ : लकाई

० अक्षरपाटी विशेष

हरेक व्यक्ति सफलताको दौडमा खुद्दा कुद्दै संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला घरमै लकडाउन छ । यतिबेला नेपालमात्र होइन, सिंगो दुनिया लकडाउनको अवस्थामा छ । हामीले तमामौं प्रगति गर्यौँ । विज्ञानले चमतकार गर्यो । तर अदृश्य, अभेद्य भाइरसले हामीलाई परास्तजस्तै बनाएको छ ।

अवस्था यस्तो भए पनि सामान्य जीवनमा केलाई सफलता भन्ने ? निक्र्यौल नै गर्न नसकेर गरिएको दौडका कारण मान्छे सफलतादेखि निकै टाढा पुगिरहेको हुन्छ ।

सफलता के हो त ? संघर्षको कठिन दौड पार गरेर आएका खेमराज लकाईसँग सफलताको सामान्य परिभाषा छ । ‘जीवनको अन्तिममा वा फुर्सदिलो समयमा छातीमा हात राखेर मैले के गरेँ भनेर सोच्दा आनन्द आयो भने त्यो सफलता हो,’ ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटीका संस्थापक संचालक लकाई भन्छन्, ‘धनको थुप्रो, गाडीघोडा, जायजेथा, बंगला जमिन आनन्दका स्रोत होइनन्, दुःखका कारण हुन् ।’ जनु अहिलेको परिस्थिति थप सावित पनि गरिदिएको छ ।

भौतिक सुविधा र सम्पत्तिलाई उद्देश्य बनाएर हिँड्नेहरुकै कारण आज मानिसहरु मात्र होइन सिंगो समाज र देश दुःखी भएको लकाईको ठम्याई छ । हरेक मानिस दुई दिनका लागि यस धर्तीमा आएकाले ‘मै लाऊँ मै खाउँ’को मनोविज्ञानबाट मुक्त हुन जरुरी भएको दार्शनिकता उनी बोक्छन् ।

‘पद, पैसा, प्रतिष्ठालाई प्रयोग गरेर समाजलाई माथि उकास्नु सौभाग्य हो,’ लकाई भन्छन्, ‘तर यहाँ दुरुपयोग हुने गरेको छ, त्यो दुर्भाग्य हो ।’ नेतृत्वमा अहंकार र म बाहेक अरु कोही छैन भन्ने माइन्डसेट ‘कोरोना’ भाइरसभन्दा खतरनाक भएको उनी देख्छन् । जसले समाजमा विशेष गरि युवा वर्गमा निकै ठूलो निराशा जन्माएको उनी पाउँछन् । तर त्यसको पनि उनी सरल उपाए सुझाउँछन् ।

के हो त त्यो उपाए ? ‘समाजमा निकै निराशा बढेको छ, दिक्दारी छाएको छ,’ संस्थापक संचालक लकाईले एउटा मिथक पस्किए–

‘कुनै समय समुद्रमा ठूलो छाल आयो । त्यो छालले समुद्रका सबै स्टार फिस बगरमा हुत्याइदियो । किनारमा बसेको एक बुढो माझी बगरमा भड्किरहेका तीं माछा टिप्दै समुद्रमा फाल्न थाले । परबाट आइरहेको बटुवाले माझिको काम देखेर आश्चर्य मान्दै भने –तिमी कति सक्छौ र बगरका माछा टिप्दै समुद्रमा फालेर बचाउने कोसिस गरिरहेका छौ ?

माझीले भने, आज बचाइन भने भोलीको खेती रहन्न । फेरि यी सबै माछा बचाउन म एक्लैले सक्ने पनि होइन । मैले त जति सक्छु त्यति बचाउने कोसिस गर्ने हो । यीं लाखौंमध्ये म एक्लोले सय बचाएछु भने पनि त्यो मेरा लागि लाख हुन्छ, सन्तुष्टिको कारण बन्छ ।’

स्वीट्जरल्यान्डमा अस्पिटालिटी अध्यन गर्न जाँदा त्यहाँका गुरुले सुनाएको यो दृष्टान्तले खेमराज लकाईको जीवनमा अमिट सकारात्मक प्रभाव पारिदियो । ‘आज हामी यो छैन, ऊ छैन, यता अभाव छ, उता अभाव छ भन्छौं,’ लकाईले भने, ‘केही नहुनु पनि अवसर हो, तर त्यसका लागि म के हुँ, को हुँ, मेरो क्षमता केहो, म के गर्न सक्छु भन्ने निक्र्यौल गर्न सक्यौँ भने ‘आसा’ त्यहीँनेर पलाउँछ ।’ उनी निराश हुने कुराको सूची जति लामो छ, आसाको सूची पनि त्यति नै फराकिलो देख्छन् ।

दोलखाको सैलुङमा जन्मिएका लकाईको जीवन पनि ग्रामीण परिवेशमा हुर्किएको हो । उनले पनि वनपाखामा बाख्रा डुलाएरै बाल्यकाल बिताएका हुन् । नङ्ग्रा खियाएर माटो कोट्याएरै जीवीकोपार्जन गर्ने परिवारमा उनको जन्म भएको हो । तर उनले त्यही परिवार र समाजमा सामाजिक संस्कार सिके, अतिथि देवो भवःको मन्त्र व्यवहारमा उतारेको देख्न पाए ।

‘एकाविहानै गाउँभरिका बुज्रुक, भलादमी हाम्रो घरको आँगनमा गफिन आउँथे,’ उनले बालापन सम्झिए, ‘सानो घरको सानो आँगनभरि भरिभराउ मान्छेलाई आमाले चिया बनाएर दिनुहुन्थ्यो, सबैले सकारात्मक कुरा गर्थे, भोलीको योजना बनाउँथे, कसले कसलाई के सहायोग गर्ने भन्ने सल्लाह गर्थे, मैले यस्तो समाजिक कल्चर घरबाहेक कुनै विश्वविद्यालयमा सिक्न पाएन ।’

पछिल्लो समय हामी पर्यटन व्यवसायमा आकर्षित भए पनि समाजका यस्ता सँस्कार र व्यवहार पातलिँदै गएकोमा उनी चिन्तित छन् । ‘संसारले नेपाल सुन्दर छ भन्छ, उनीहरुले सुन्दर देखेको हाम्रो यही भाइचारा, लोकाचार, सँस्कार, सदभाव हो,’ लकाइले भने, ‘विस्तारै मान्छे प्रविधिमुखी, एकलकाँटे बन्दै गए हाम्रो मौलिकता के रहन्छ ?’

त्यो मात्रै होइन गाउँमा निहुरिएर भित्र पस्नुपर्ने घरको होचो ढोका थियो, पस्ने बित्तिकै तीनफुटे सानो दराज राखिएको थियो, लकाईका बुवा नरबहादुर लकाईले त्यसमा मुसा मार्ने दवाईदेखि, सिटामोल, सिन्दुर, सिम्रिकदेखि कपाल बाँध्ने डोरी र लुगा सिउने सियोसम्म राखेका हुन्थे ।
गाउँका मानिसले खोजेको कुनै सामान त्यहाँ पाइन्थ्यो । पैसा हुनेलाई नगद र नहुनेलाई वहीमा लेखेर सामान दिने गरिन्थ्यो । वही खाता खेमराज नै मिलाउँथे । ‘लामो समय कसैले पैसा तिरेन भने बुवा कराउनु हुँदैन थियो,’ लकाईले सम्झे, ‘बिचरा ! नसकेर त नतिरेको होला, त्यसको हिसाब काटिदेउ भन्नुहुन्थ्यो ।’ त्यो स्नेह र सदभाव अहिले समाजमा किर्ते र जालसाँचीसम्म फैलिएकोमा लकाई दुःखी पनि हुन्छन् । ‘यो सब जिन्दगी दुई दिनको हो भनेर नसोच्नेहरुले फैलाएको विकृति हो,’ उनी भन्छन् ।

उनले संचालन गरेको कलेज ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन स्वीस होटेल एसोसियसनसँग सम्बन्धन प्राप्त छ । लकाईको नेतृत्वमा रहेको यस संस्थाले केयू र टियूको कोर्षभन्दा फरक व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ ।

लकाई उक्त संगठनको सदस्यका रुपमा पुग्ने नेपाली हुन् । उक्त संगठनले विश्वभर वर्षेनी आयोजना गर्ने इन्टरनेशनल सम्मेलन सन २०१९ मा नेपालमा भएको थियो । नोभेम्बरमा भएको उक्त सम्मेलनको नेतृत्व नेपालले गर्यो भने त्यसको अध्यक्षका रुपमा खेमराज लकाईले नेतृत्व गरेका थिए । जुन निकै सफलतापूर्क सम्पन्न भएको थियो ।

६२ देश देखिसकेका लकाई विदेश पढेर आएपछि नेपालमा पनि पर्यटनसँग जोडिएको शैक्षिक क्षेत्रमा संलग्न भए । सन २००७ मा उनले ग्लोबल एकेडेमी अफ टुरिस्ट एन्ड हस्पिटालिटी एजुकेशनको संस्थापक÷संचालक भएर पढाउन सुरु गरे । यस शैक्षिक प्रतिष्ठानबाट आजसम्म तीन हजार विद्यार्थीले भोकेसनल (सिपमुलक) तालिम लिएका छन् । नौ सय विद्यार्थीले ग्रयाजुएट गरेका छन् ।

‘विदेशी विद्यार्थी हस्पिटालिटी पढ्न नेपाल आए भने नेपालीको विदेश जाने धारणा नै परिवर्त हुन्छ भन्ने मैले विदेश पढ्ने क्रममा अनुभव गरेँ,’ लकाईले भने, ‘त्यसलाई म आफैले सुरुवात गरेँ ।’ नभन्दै आज उनी नेतृत्वको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड अस्पिटालिटीबाट बंगलादेश, चाइना, डेनमार्क, स्वीस नागरिक, फिलिपिन्स, माल्दिभ्स, अफगानिस्थान, म्यानमार, पाकिस्थान, इन्डियाका विद्यार्थीले अध्ययन गरिसके र गरिरहेका पनि छन् । ‘यो पढाउने कुरा मात्र होइन, हाम्रो देशको गरिमा पनि बढाउने काम हो जस्तो लाग्छ,’ उनले भने ।

गाउँमा खेती गर्दा खेतको डिलमा रेडियो घन्काएर अर्मपर्म गर्दै काम गरिने सामुहिक संस्कार र त्यो आनन्द आजको दिनमा हराउँदै गएको देखेका छन् । उनकी आमा कुलकुमारी बुवाको त्यही सानो दराजको पसलमा चुराको व्यपार गर्थिन । उनले सम्झे, ‘चुरा लगाउन आउनेहरु सानो चुरा लगाउन रुचाउँथे, त्यो जतिपायो त्यतीबेला हुँदैन थियो, आमा विहानै उठेर हात काखीमा च्यापेर आउनु, सानो चुरा पहिरिदिउँला भन्नुहुन्थ्यो ।’ त्यो हाम्रो सामाजिक सदभावको संस्कार आज मासिँदै गएको उनी पाउँछन् ।

आज उनी नेपाली पर्यटन क्षेत्रमा त्यही गाउँको सदभाव, सहयोगी भावना, सामुहिकता, मौलिकताको सुगन्ध हुनुपर्ने मत राख्छन् उनी । ‘संसारका विकसित देश आज हामीहरुबाटै प्रेरित भएर ‘फार्मर मार्केट’ संचालन गरिरहेका छन्,’ लकाईले भने, ‘तर लेकमा उब्जिएको आलु पहाडमा, पहाडको घिउ र कोदो लेकमा, तराईँको अन्न पहाडमा र पहाडको मह, जुनार तराईँमा पुर्याउने हाम्रा हाटबजार कल्चर कता गयो ? अनि हामीले के देखाउने, के बेच्ने विदेशीलाई ?’

यसरी मौलिकता नाशेर नेपालको पर्यटन प्रवद्र्धन नहुनेमा उनको चिन्ता छ । बियर, क्वाटर, चाउचाउ, जंकफुड बोकेर कहीँ भिड लाग्दैमा पर्यटन विकास नहुने उनको ठोकुवा छ । ‘पर्यटन विकास त तब हुन्छ, जब त्यहीँको मौलिकता, त्यहीँको सामुहिकता र त्यहीँको संस्कृतिमा विदेशीहरु मग्न होउन,’ लकाईले भने, ‘त्यो बाहेकको भीड र आकर्षण डम्पिङ पर्यटन हो ।’ उनले दृष्टान्त पेश गरे, मान्छे बन्दिपुर जान किन रमाउँछ, त्यहाँ पुरानो मौलिकता पाइन्छ । हायात होटेलमा डेढ सय तिर्न अनकनाउने पाहुनले होटल द्वारिकाजमा किन तीन सय तीर्न राजी हुन्छ ? त्यहाँ नेपालीपन छ ।

गाउँ नै फाइभस्टार !
सुन्दा अचम्म लाग्ला तर लकाई हरेक नेपाली गाउँलाई पाँचतारे देख्छन् । उतिबेला गाउँमा आफूसँग भएको कुरा अर्को परिवार वा समुदाय र अर्को परिवार वा समुदायमा भएको कुरा आफ्नो परिवारमा साँटासाँट गर्ने चलन थियो । ‘त्यो संस्कारलाई हामीले आज पनि व्यवस्थित गर्न सक्यौँ भने नेपालमा कोही गरिब, कोही पछाडि पर्नुपर्दैन,’ लकाईले ठोकुवा गरे, ‘त्यो हाम्रो मौलिकता पनि हो । पहिचान पनि हो । विदेशी पाहुनालाई आकर्षित गर्न मिल्ने कच्चर पनि हो ।’

तर गाउँमा पुग्ने बाटो, सफासुद्धता, एउटा सौचालय र पानीको उचित प्रबन्ध गर्ने हो भने कंक्रिटको विशाल घरमा मात्रै पाहुना आउँछन् भन्ने मान्यता म्याडनेस हो । गाउँको सुद्ध पर्यावरण, खुला जमिन, फराकिलो आकाश, अग्र्यानिक उत्पादन, सहयोगी भावना, मिलनसार सँस्कृति, दुईपाखेदेखि गुरुङको गोल घर, नेवारी सँस्कृति, थारुको मेजमानी नै नेपालका हरेक गाउँमा भएको ‘स्टार स्तर’को सम्पत्ती भएको उनी देख्छन् ।

आमाको निधनपछि परिवर्तन
खेमराज लकाई सानैहुँदा आमा बित्नुभयो । जुन आमाले अनेक स्नेह र तमामौं कुरा सिकाइराख्नु भएको थियो, उहाँ नै नरहेपछि उनी गाउँमा बस्न सकेनन् । आमाकै यादले पिरोल्ने भएपछि उनी पढ्नकै लागि काठमाडौं पसे । डिल्लीबजारको विजय स्मारकमा उनी टोपी लगाएरै विद्यालय गए । ‘राजधानीमा टोपी लगाएर जाँदा खिसी गर्छन भन्ने मलाई थाहा थिएन,’ उनले सम्झिए, ‘साथीहरुले मेरो टोपीको मजाक मात्रै बनाएनन, फुटबल बनाएरै खेले ।’

यो कुरा सोही विद्यालयकी शिक्षिका मीना पनेरुले नोटिस गरिन् । उनी ब्याक बेच्चरबाट फस्ट बेन्छर बने । ‘यो घटनाले मेरो जीवनमै परिवर्तन ल्याइदियो, मेरो मनोबल एकाएक उँचो भयो,’ लकाईले सम्झिए, ‘मेरो आँट यति धेरै भयो कि मिना मेमको त्यही निर्णयले आज म सफल व्यक्ति बन्न पुगेँ ।’

उज्वल जोशी ग्लोबल एकेडेमीमै पढे, पास गरे, जागिर खाए । पछि थाहा भयो कि उनी मीना पनेरुका भतिज हुन । उज्वललाई नै माध्यम बनाएर उनी तीन दशकपछि गुरुआमा मीनालाई भेट्न गए । ‘मेम खुसी हुनु भयो, म त्यही टोपीको मजाक उडाइएको उहाँको विद्यार्थी आज देश, विदेशका विद्यार्थी पढ्ने शैक्षिक संस्थाको संस्थापक छु भनेर,’ उनी नोस्टाल्कि बने । आफूले संसारको सबैभन्दा उत्कृष्ट समाजको व्यवहारिक नमुना आफ्नै घरबाट सिकेको भन्न रुचाउने खेमराज लकाई असल हस्पिटालिटी पनि त्यही हो भन्ने मान्यता राख्छन् ।

कमजोरीको कारण
जीवनको संर्घषशील यात्रामा हिँडदा हिँड्दै सन २०११ मा प्रभा अमात्यसँग लगनगाँठो कसेका लकाई राजनीतिले सिंगो समाज र देशको नेतृत्व गर्नुपर्ने मान्यता राख्छन् । तर यहाँ अस्थिर राजनीतिले जहिले पनि पार्टी, गुट र व्यक्तिको भलाईमा रुमल्लिँदा देशले फाइदा पाउन नसकेको उनी देख्छन् । ‘अनेक जिकज्याक, निराशका बीच पनि देश त प्रगतिकै पथमा देखिन्छ,’ उनी भन्छन्, ‘हिँजो जे छँदै थिएन, आज त्यो चिज भएको छ, विकास पनि अघि बढिरहेकै छ, यो खुशीको कुरा हो ।’

तर राजनीतिले सत्य, सहीभन्दा भीडकै विजय गराउने भएकाले पनि आसालाग्दो काम हुन नसको उनी ठम्याउँछन् । त्यसोभए देश कसले बनाउने त ? ‘देश त हामीले नै बनाउने हो,’ उनले भने, ‘तपाईँ लेख्ने काम गर्नुहुन्छ, इमान्दार भएर लेखिदिनुस, म पढाउने काम गर्छु इमान्दार भएर पढाइदिउँ, बाटो हिँड्ने बटुवाले पनि इमान्दार भएर नियममा हिँडिदियो भने देश कसैले आएर बनाइदिनै पर्दैन, आफै बन्छ ।’

हामीले सडक फैलन, ठूला घर निर्माण हुनु विशाल टावर खडा गरिनुलाई आज पनि विकास ठान्ने गरेका छौँ । ‘यो सब म्याडनेस हो,’ लकाई भन्छन्, ‘आज विज्ञानले ठूलाठूला आविष्कार गरेको छ, मान्छेलाई सुविधा दिएको छ तर खुसी दिन सकेन, त्यो खुसी त नेपाली मौलिकतामा छ, भाइचारामा छ, सदभाव र सहयोगी भावनामा छ ।’

उनी नेपालीपन, नेपाली सँस्कार, नेपाली सँस्कृति मात्रै पस्कन सक्ने हो भने विदेशीले त्यो रुपान्तरण लिएर जानेमा ढुक्क छन् । ‘बिडम्बना ! आधुनिकताका नाममा हामी हाम्रै पहिचान मासिरहेका छौँ, भाषा विर्सिरहेका छौँ, यो सँगै हामी सुख प्राप्तिको नाममा खुुसी नासीरहेका छौँ,’ भन्छन्, ‘हामी कहिल्यै दुःखी नहुने हो भने हाम्रै पितापुर्खाको सँस्कार जोगार हिँड्नुपर्छ ।’

र अबको अवस्था त झन यस्तो छ, जहाँ लकाईको उपाय नै फलिफाप सिद्ध हुनसक्छ । प्रकृतितर्फ फर्ककै नियम कामयाव हुनसक्छ । किनकि ज्ञाताहरुले नै विश्वभर फैलिएको कोरोना महामारी तेस्रो विश्वयुद्धभन्दा खतरनाक र घातक हुने भनिरहेका छन । यो भाइरसको महामारीबाट हामी उम्कियौँ भने अब आर्थिक उन्नती गर्न हामीले फेरि पनि आयातमा निर्भर भयौँ भने त्यो थेगि नसक्नु भार हुनेछ । कारण हामीसँग निर्यातजन्य उत्पादन छैन । त्यसैले हरेक गाउँमा पितापुर्खाकै उत्पादनको बाटोलाई थोरै आधुनिकतासँग जोडेर नयाँ ढंगले उठ्नुपर्ने हुनसक्छ ।

(पत्रकार शिवराज योगीले युवामञ्चका लागि लेखेको यो आलेख साभार गरेका हौँ)