अत्यावश्यक सामग्री होमलेडिभरी गर्न महानगर तयार, आफूसँगै समाजलाई जोगाउन नगरप्रमुख वडको अपिल

धनगढी । शनिबारका दिन कैलाली र कञ्चनपुर गरेर एकैपटक तीन जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि यसको फैलावट रोक्न धनगढी उपमहानगरपालिकाले थप कडाई गरेको छ ।

धनगढी उपहानगरपालिकाका मेयर नृपबहादुर वडले दूग्धजन्य पदार्थ र स्वास्थ्य सेवासँग सम्बन्धित बाहेकका सबै खाले सवारी साधन चल्न पूर्ण रुपमा बन्देज लगाएको बताए । उनले अक्षरपाटीसँग कुरा गर्दै भने, ‘यो एक जनाबाट परिवार र परिवारबाट सिंगो समाजलाई घातक हुने रोग हो, यस्तो बेला एउटा सिटामोल, दुई पत्ता धनिया किन्ने नाममा लापरवाही नहोस भनेर हामीले कडाइ गरेका हौँ ।’

यो महामारीको घडीमा पक्कै पनि जनतालाई असुविधा भएको उनले बताए । महामारीबाट जोगिन आफूहरु यस्तो कदम चाल्न वाध्य भएको बताउँदै उनले भने, ‘वास्तविक समस्यामा परेका जनताका लागि महानगरले ‘होम डेलिभरी’को व्यवस्था गरेको छ । त्यसका लागि आफ्नो वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिन्छ ।’

चैत ११ अघि र १२ गनेसम्म पनि धनगढीसँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट भारतमा काम गर्ने हजारौँ नागरिक भित्रिएकाले धनगढी लगायत सुदूरपश्चिम क्षेत्र उच्च जोखिममा भएको हुँदा कडाइ गर्नुको विकल्प नभएको पनि उनले बताए । त्यतिबेला केही त्रुटीहरु भए पनि अब विदेशबाट आएकाहरुको खोजी गर्न आफ्नो प्रदेश सरकारसँग सम्वाद र समन्वय भइरहेको उनले जानकारी दिए ।

यद्यपि गौरीफन्टा नाकाबाट आयत हुने उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थ नियमित भएको उनले बताए लकडाउन सबै नेपालीको जीवन रक्षाका लागि गरिएको भएकाले पालना गरिदिन र विदेशबाट आएकाहरुले क्वारेन्टाइनमा बस्न, सुरक्षा जाँच गराउन र त्यस्ता व्यक्तिका बारेमा जानकारी दिन पनि उनले अपिल गरे ।

‘धनगढी उपहानगरपालिकाका १० वटा वडा भारतसँग जोडिएका छन् । ती नाकाबाट अझै पनि लुकिछिपी मानिसहरु भित्रिन सक्ने भएकाले स्थानीय जनताले त्यस्ता व्यक्तिको बारेमा नगरपालिकालाई जानकारी गराएर सहयोग गरिदिन पनि उनले अपिल गरे ।

‘एकजनामा कोरोना संक्रमण भए पूरै परिवार, परिवार संक्रमित भए पुरै टोल र टोल संक्रमित भए पुरै समाजका मान्छेको स्वास्थ्य जोखिममा पर्छ,’ उनले भने, ‘यो महामारीबाट जोगिन सानातिन लाग्ने गल्ती नगरौँ, आफू पनि जोगिउँ, समाजलाई पनि जोगाउँ ।’