सभापति देउवाले भनेः म सुदूरपश्चिमेलीको साथमा छु

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट मुलुकलाई जोगाउन ६ जना पूर्व प्रधानमन्त्रीहरुसँग फोनमार्फत ऐक्यवद्ध भएर काम गर्न अपिल गरेको दोस्रो दिन नेपाली काँग्रेसका सभापति, पूर्वप्रधामन्त्री तथा डडेल्धुराबाट संघीय सांसाद शेरबहादुर देउवाले विपत्ति र महामारीको यो घडीमा आफू सुदूरपश्चिका जनतासँगै रहेको बताएका छन ।

डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउदसँग टेलिफोनमा सुदूरपश्चिमको अवस्थाबारे जानकारी लिँदै उनले आफू र सिंगो पार्टी यो विपदको घडीमा सुदूरपश्चिमका जनतासँग रहेको बताएका हुन । मेयर साउँदले अक्षरपाटीसँग कुरा गर्दै भने, ‘सभापति देउवाले टेलिफोनमा यस क्षेत्रको अवस्थाबारे जानकारी लिनुभयो, उहाँले भौतिक रुपमा नभए पनि भावनात्मक रुमा आफू सुदूरपश्चिमकै जनतासँग रहेको बताउनुभयो ।’

सभापति देउवाले भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि चिन्ता व्यक्त गरेको मेयर साउदले बताए । ‘उहाँले सीमा क्षेत्रबाट अवैध रुपमा प्रवेश गर्ने नागरिकका बारेमा चासो राख्नुभयो, सीमा पारि रोकिएका जनताको विषयमा चिन्ता जनताउनुभयो र क्वारेन्टाइनको अवस्थाका बारमा पनि सोधपुछ गर्नुभयो ।’

देउवाले आम जनतालाई लकडाउनको पालना गरेर आफू र आफ्नो समाजलाई सुरक्षित रहनका लागि सन्देश प्रवाह गरिदिन अपिल गरेको पनि काँग्रेस नेता तथा मेयर साउदले बताए ।

देउवा पत्नी तथा समाजसेवी आरजु राणा देउवाले पनि टेलिफोनमार्फत समग्र सुदूरपश्चम क्षेत्रको अवस्थाबारे जानकारी लिएको मेयर साउदले बताए । ‘उहाँले टेलिफोनमा यस क्षेत्रको समग्र बस्तुस्थितिका बारेमा बुझ्नु भयो, विपद, समस्या र घरेलु हिंसा हुनसक्ने बारे पनि ध्यान दिन आग्रह गर्नुभयो,’ मेयर साउदले अक्षरपाटीलाई जानकारी दिए ।

गत शनिबार सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि यहाँ संक्रमितको संख्या ४ पुगेको छ । देशभरमै सुदूरपश्चिम प्रदेश सबैभन्दा जोखिमपूर्ण मानिएको छ ।

सिंगो प्रदेशमा चारवटा भन्दा बढी भेन्टिलेटर सेवा नभएको अवस्था, दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएको समस्याका बीच सुदूरपश्चिमले कोरोनाका महामारी खेप्न निकै चुनौतिपूर्ण भएको अवस्थामा काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री देउवा र काँग्रेस नेतृ तथा समाजसेवीले चासो लिएका हुन ।