नेपाली काङ्ग्रेस गोदावरीद्वारा नगरपालिकालाई खाद्यान्न हस्तान्तरण

अत्तरिया । नेपाली काङ्ग्रेस गोदावरी नगर समितिले दैनिक गुजारा गर्न असहज भएका नागरिकलाई वितरण गर्नका लागि गोदावरी नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनका बेला अप्ठेरोमा परेका जनतालाई नगरपालिका मार्फत वितरण गर्ने गरि खाद्यान्न प्रदान गरेको नगर सभापति हेमप्रकाश उप्रेतीले बताए ।

राजनीतिक पहुँचका आधारमा मात्र राहत पाउने गरेको गुनासो जताततै भइरहेका बेला काङ्ग्रेस गोदावरी नगर समितिले दैनिक मजदुरी गरेर खाने, आर्थिक अवस्था विपन्न भएकाहरुका लागि भन्दै ४६ क्विन्टल चामल, डेढ क्विन्टल दाल, दुई क्विन्टल नुन गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदलाई हस्तान्तरण गरिएको नगर सभापति उप्रेतीले बताए ।

राहत हस्तान्तरण गर्दै नगर सभापति उप्रेतीले राहत पाउनुपर्नेहरुले मात्र राहत पाउने बिश्वास ब्यक्त गरे । राहत हस्तान्तरण कार्यक्रममा काङ्ग्रेस कैलाली क्षेत्र न ४ का सभापति दिनेशराज जोशी, काङ्ग्रेस जिल्ला कार्यसमितिका आमन्त्रित जिल्ला सदस्य सुरत कार्की, निर्वाचन क्षेत्र ४ ख प्रदेश समिति सभापति खेम साउद, नगर सचिव तेज खड्का, गोदावरी नगरपालिका २ नम्बर वडा सदस्य कमल कडायतलगायतको उपस्थिति थियो ।