सुनसान अवस्थामा सडक निर्माण

हेटौँडा । लकडाउनका कारण सिंगो देशभरका सडक सुनसान छन । एकआध अत्यावश्यक बाहेकका सवारी साधन गुडेका छैनन । मान्छे घरबाट ननिस्किएको १५ दिन भयो । अझै एक साता लकडाउन घोषणा गरिएको छ भने थप हुने सम्भावना पनि कायमै छ ।

यस्तोमा हेटौँडालाई काठमाडौँसँग जोड्ने चल्तीको मदन भण्डारी मार्गलाई फराकिलो पार्न लकडाउन वरदान सावित भएको छ । सडक खाली भएकाले अहिले वाग्मती प्रदेश सरकारले सो मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी सडकखण्डलाई निर्धक्कसँग फराकिलो बनाउने काम भइरहेको छ ।

ुलकडाउनका कारण देशमा असहज स्थिति छ, तर हामीले यसलाई मौकाकै रूपमा सदुपयोग गरेका छौँ, यो चरणमा सम्पन्न गरिने १६ किलोमिटरमध्ये आठ किलोमिटर सडक फराकिलो बनाउने काम सम्पन्न भइसकेको छु, वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले भने ।

दूरी व्यवस्थापनलगायत कोरोना भाइरससँग सम्बन्धित सबै प्रकारका सुरक्षा र सावधानीलाई पूर्णरूपमा पालना गर्दै काम भइरहेको मन्त्री फुँयालले जानकारी दिए ।

भीमफेदीबाट कुलेखानीसम्मको १५.५ किलोमिटर सडक फराकिलो पारी कालोपत्र गर्ने कामका लागि प्रदेश सरकारले ३२ करोडमा मोतीदाना कम्पनीलाई ठेक्का दिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानी गरी दुई खण्डमा निर्माण गर्ने गरी बोलपत्र आह्वान गरेको थियो ।

सम्झौताअनुसार निर्माण कम्पनीले चार मिटरको हालको बाटोलाई छ मिटरको चौडा बनाएर ०७७ फागुनसम्ममा कालोपत्रे तथा ढलसमेतको काम सम्पन्न गरिसक्नुपर्ने छ ।

(यो तस्बिर लकडाउन अवधिमा जडिबुटी–कोटेश्वर सडक मर्मत गरिरहेका सडक विभागका कर्मचारीको हो, तस्बिर राससबाट साभार गरिएको हो ।)