जथाभावी मिडियाबाजी नगर्न नगर प्रमुख साउदको आग्रह, नगरमा स्वाब संकलन हुँदै

डडेलधुरा । नगरपालिकामा रहेका क्वारेन्टिन स्थल, जनताको स्वास्थ्य र लकडाउनको अवस्था बुझ्न परशुराम नगरपालिकाले नियमित अनुगमन गरिरहेको छ ।

नगर प्रमुख भीमबहादुर साउदको नेतृत्वमा नगरका उप प्रहुख, प्रमुख प्रशासकीय अधिकृत, समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु, द्रत प्रतिकार्य टोली, सुरक्षा निकायका प्रतिनिधिले नगरका विभिन्न वडामा अनुगमन गरिरहेको हो ।

यही विषयलाई केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताले अनुमानका भरमा अन्यथा प्रचार गरेकोप्रति नगर प्रमुख साउदले आपत्ति जनाएका छन । उनले विज्ञप्ति प्रकाशित गर्दै भनेका छन, ‘क्वारेन्टिनको अवस्था, नागरिकको स्वास्थ्य, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च राख्न अनुगमन र सुपरिवेक्षण गरिएको हो । हामीले सामाजिक दुरी (भौतिक) कायम राखेर सुरक्षित हुने उपायहरुको जानकारी आम नागरिकलाई गराउँदै आफू पनि पूर्ण अबलम्बन गरेका छौँ ।’

नगर प्रमुख साउदले यस्तो संवेदनशील अवस्थामा व्यवस्थापकीय जिम्मेवारीमा अहोरात्र खटिएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, रेडक्रसकर्मी, समाजसेवी, सञ्चार माध्यमलगायतले सामाजिक दुरी कायम गरेको उल्लेख गर्दै यसलाई सकारात्मक ढंगले नबुझेर जथाभावी अफवाह नफैलाउन अनुरोध गरेका छन । यो संकटको घडीमा साथ दिने सम्पूर्णमा आभार व्यक्त गर्दै उनले नगरबासीलाई सुरक्षित रहन आग्रह गरेका छन ।

स्वाब संकलन हुँदै
विश्वव्यापी रुपमा कोरोनाको संक्रमण बढदै गएको बेला सुदूरपश्चि पनि उच्च जोखिममा देखिएपछि यस क्षेत्रमा परीक्षणलाई प्राथकिता दिइएको छ । यही क्रममा आज परशुराम नगरपालिकामा कोभिड १९ परीक्षणका लागि स्वाब संकलन थालिएको छ ।

नगरमा स्थापना गरिएका त्रिवेणी बहुमुखी क्याम्पसमा स्थापित क्वारेन्टिन, जोगबुडा क्वारेन्टिन र शिवशंकर मावि साँदनी क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरिने जानकारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिृत तारानाथ पनेरुले दिएका छन ।