जनता जोगाउन निर्मम निर्णय लियौँः नगर प्रमुख वड

O अक्षरपाटी विशेष

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि चैत ११ देखि पुरा देश लकडाउनको अवस्थामा छ । आठ जना बाहिरबाट आएका र एक जना स्थानीयमा हालसम्म यो संक्रमण भेटिएको छ । उनीहरु सबै उपचारका क्रममा छन । चैत २२ गते धनगढीमा स्थानीय संक्रमण देखिए पनि नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा सरकारले गर्यो ।

आफ्नो नगरका स्थानीय संक्रमण देखिएपछि सुदूरपश्चिमकै एक मात्र उपमहानगरपालिकाका मेयर नृपबहादुर वड बेचैन भए । उनले सिंगो देशमा लकडाउन हुनु र विद्यालय बन्द गरिनु अघि नै यस क्षेबमा भारत तथा विदेशबाट आउनेहरुको फ्लो देखेर विद्यालय बन्द पनि गराएका थिए । तर विभिन्न टिकाटिप्पणीपछि उनले त्यो निर्णय सच्याए पनि पुरा देश बन्द गरिएपछि उनको निर्णय पुनः कार्यान्वयन भयो ।

बज सुदूरपश्चिममै सबैभन्दा बढी (हालसम्म चार जना)मा कोरोना संक्रमण देखियो त्यसमा पनि ३ जना कैलालीमा पाइयो उनले कठोर कदम चाले । अहिले धनगढीमा देशभरमै सबैभन्दा कडा लकडाउन कार्यान्वयमा छ ।

‘त्यसको उपाए नै थिएन,’ उनले अक्षरपाटीसँग कुरा गर्दै भने, ‘संसारले नै यसको पहिलो उपचार सुरक्षित बस्नुलाई मानेको छ । अर्थात संक्रमण फैलन नदिन भौतिक दुरी कायम गर्नु नै यसको रोकथापको उपाए हो ।’ अर्को कुरा यसको संक्रमण भइहालेछ भने सुदूरपश्चिममा प्रयाप्त सुविधा भएका अस्पताल र स्वास्थ्यकर्मीकै पनि अभाव भएकाले जनतालाई जोगाउन निर्मम निर्णय गर्नुपरेको उनले बताए ।

चैत २२ मा थप कोरोना संक्रमणको पुष्टि भएपछि नगर प्रमुख मेयरले स्थानीय सरोकारवाला निकायसँग छलफल गरेर बिहान ६ देखि ९ बजेसम्म खुल्ने अत्यावश्यक वस्तुहरुको पसल पनि खोल्न बन्द गराए । त्यसको विकल्प के त ? उनले अक्षरपाटीलाई भने, ‘हामीले हरेक वडाका जनप्रतिनिधिहरुलाई जनताको समस्यामा साथ दिन भनेका छौँ, सबैका सम्पर्क नम्बर सार्वजनिक गरेका छौँ । कोही भोकै बस्नुपर्ने वा बिरामी भएमा उपचार नपाएर दुःख पाउनु नपरोस भनेर सचेत छौँ तर यो महामारीसँग जुध्न हामीसँग यो बाहेक अर्को उपाए पनि त छैन ।’

धनगढीमा लकडाउनलाई एक स्तरको कफ्र्युका रुपमा कडा मात्रै पारिएको छैन । अक्षरपार्टीसँगको सम्वादमा नगरप्रमुख वडले भने, ‘नगरपालिका, स्थानीय प्रशासनले कोरोनाबारे बरकतले भ्याएसम्मको जागरुकता ल्याउन नगरका हरेक वडामा सम्पूर्ण संयन्त्र परिचालन गरेको छ । सबै जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय क्लबहरु, सामाजिक संघ÷संस्था, सुरक्षाकर्मी र समाजसेवी परिचालन गरिएको लगायत सबै खटेका छौँ ।’

धनगढी नगर भारतीय सीमा क्षेत्रसँग जोडिएको नगर हो । आज पनि भारतीय सीमा बजारमा भारतको विभिन्न सहरबाट स्वदेश फर्कन आएकाहरु बिचल्लीमा परेका छन । उनीहरु लुकीछिपि भए पनि स्वदेश प्रवेशका खबरहरु छन । यसको व्यवस्थापन कसरी भइरहेको छ होला ? ‘भारतीय सीमा क्षेत्रमा नेपाली दाजुभाइ, दिदीबहिनी अलपत्र पर्नुपरेको खबर हाम्रा लागि पनि दुःखद हो तर यसको व्यवस्थापनको निर्णय प्रदेश र संघीय सरकारले गर्नुपर्ने हो । हामीले स्थानीय जनतालाई कसरी संक्रमणबाट जोगाउने भन्नेमा आफ्नो ध्यान केन्द्रित गरेका छौँ । त्यसका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका थप क्याम्प स्थापना गरिएको छ । उहाँहरुले त्यसको निगरानी गरिरहनु भएको छ ।’

संक्रमण देखिइहालेमा वा आशंकितका लागि नगरले विभिन्न तयारी गरेका नगरप्रमुख वडले बताए । धनगढी उपमहानगरपालिकाले महिलाका लागि भिन्दै क्वारेन्टाइन कक्षको व्यवस्थापन गरेको उनले जानकारी दिए । ‘धनगढीको बी पोलिटेक्नि ईन्स्टिच्यूटमा २२ सैयाको महिला क्वारेन्टाइन वार्ड स्थापना गरेका छौँ । यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार तयार गरेका छौँ,’ मेयर वडले जानकारी दिए । महिलाका लागि तयार गरिएको क्वारेन्टाइनमा सेनिटरी प्याड, स्नानगृह, सौचालयलगायतको व्यवस्था गरिएको छ ।

उता कैलाली उद्योग वाणिज्य संघ, त्रिनगर माध्यामिक विद्यालय, खेलकुद मैदानलगायतका चार स्थानमा गरि दुई सय ५१ बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको मेयर वडले बताए । धनगढीमा भारतलगायत विभिन्न मुलुकबाट भित्रिएका ६ सय ४१ जनाको रेकर्ड भएको तथ्यांक नगरसँग छ । छुटेका व्यक्ति हुनसक्ने र उनीहरुका बारेमा परिवार र समाजले जानकारी गराइदिन पनि नगरप्रमुख वडले आग्रह गरे ।

अहिले क्वारेन्टाइनमा ५४ नगरको क्वारेन्टाइनमा छन । एक सय जना क्वारेन्टाइनमा बसेर आ आफ्नो गर गइसकेको उनले बताए । उनले अपिल गरे, ‘बाहिरबाट आएकाहरुले आफ्ना बारेमा हामीलाई जानकारी दिनुस, हामी सहयोग गर्न तयार छौँ, लकडाउनको पालना गरिदिनुस, यो व्यक्ति मात्र होइन सिंगो संसारलाई परेको विपद हो । आफू बच्न र अरुलाई पनि बचाउन सामाजिक दुरी र परिवारमा पनि भौतिक दुरी कायम गरिदिनुस ।’

संक्रमण नभित्रियोस भनेर उपमहानगरपालिकाका वडा नम्बर ९ बंगराकटान, वडा नम्बर १० को जुगेडा र वडा नम्बर २ मा सशस्त्र प्रहरीको चेक प्वाइन्ट राखिएको छ ।

संक्रमण बढ्न नदिन तथा जनता सुरक्षित राख्न लकडाउन अनिवार्य छ । कारण कसैलाई कोरोना संक्रमण भइहालेमा यसको उपचार भन्दा थप संक्रमण फैलने खतरा बढी छ । यस्तो निम्न आए भएका वा दैनिक ज्यालादारी गर्नेहरु सबैभन्दा बढी मर्कामा छन । उनीहरु भोकैले मर्ने सम्भावना छ । यो वर्गका लागि नगरले के गरिरहेको छ त ? ‘लकडाउनका कारण यो बैर्गको दैनिकी निकै कष्टकर बनेको हामीले पनि महसुस गरेका छौँ । बाध्यकारी अवस्थाले जे गर्नुपरिरहेको छ, त्यसका लागि क्षमाप्राथी छौँ । त्यस्तो वर्गका लागि धनगढी उपमहानगरपालिकाले सकेसम्म खाद्यान्न वितरण गरिरहेकोे छ ।’

हालसम्म उपमहानागरपालिकाले दुई हजार नौ सय २८ परिवारलाई राहत उपलब्ध गराएको नगर प्रमुख नृपबहादुर वडले बताए । राहत स्वरुप २९ हजार दुई सय २५ किलो चामल, चार हजार नौ सय चार किलो दाल, दुई हजार नौ सय तीन लिटर तेल र नुन वितरण गरिएको उनले जानकारी दिए । हालसम्म १५ हजार दुई सय २५ किलो चामल, एक हजार पाँच सय ६१ किलो दाल, एक सय १६ पेटी तेल, ५७ कठ्ठा नुन र ७५ किलो पिठो उपमहानगरपालिकामा संकलन भएको छ । उपमहानगरपालिले ५० लाख रुपैयाँको विपद व्यवस्थापन तथा राहत कोष स्थापना गरेको छ ।

घरमै बसेकाले कसरी आपूर्ति गर्ने ? यसका लागि नगरले अतिआवश्यक वस्तुको आपूर्ति लागि निजी क्षेत्रसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेको उनले बताए । अर्डर गरेर पनि सामान मगाउन सकिने व्यवस्था गरिएको छ । कालोबजारी नहोस भनेर अनुगमन र कारबाही तीव्र पारिको उनले जनाकारी दिए । नगरले एउटा एम्बुलेन्स कोरोना संक्रमित वा आशंका भएकाहरुका लागि छुट्याएर तयारी अवस्थामा राखेको छ ।

लकडाउन खुकुलो हुँदा मानिसहरु एक मुठो धनिया, दुई पत्ता जीवनजल किन्ने नाममा पनि कलडाउनको बेवास्था गर्न थालेका कारण आफूहरुले जनता जोगाउन निर्मम निर्णय लिनुपरेको मेयर वडले दोहोर्याए ।