अन्ततः प्रमुख प्रतिपक्षी दल काँग्रेससँग सहकार्यका लागि सत्तारुढ दलका अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरेका प्रयासभन्दा कमजोरीहरुको आलोचना उच्च भएपछि दुईतिहाई बहुमतको दल नेकपा प्रतिपक्षी दल काँग्रेसको साथ माग्न वाध्य भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापतिलाई सहकार्यका लागि प्रस्ताव गरेका हुन । महामारीको यस शंकटमा सरकारले धेरै अघि नै सहकार्य र सदभावपूर्ण व्यवहार देखाएर चल्नुपर्नेमा सरकारले त्यसो गर्न सकेको छैन ।

देशमा कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरिसक्दा पनि स्वास्थ्य सामग्रीको अभावमै अग्रमोर्चाका स्वास्थ्यकर्मी, सरक्षाकर्मी खटिरहेको र सरकार भने स्वास्थ्य सामग्री खरिददेखि, मिडियामाथिको प्रहार आफैले गरेका निर्णय आफै फिर्ता लिने लगाएतका विवादमा फस्दै गएपछि नेकपाका अध्यक्ष दाहालले नै ‘कोरोना रोकथामका लागि प्रतिपक्ष दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ’ भनेरप्रस्ताव गरेको कुरा वरिष्ट पत्रकार विजयकुमार पाण्डेले आफ्नो ट्वीट मार्फत सार्वजनिक गरेका छन । यसमा देउवाले प्रस्ताव ‘विचारणीय’ रहको प्रतिक्रिया दिएको आफूलाई बताएको पनि वरिष्ट पत्रकार पाण्डेले उल्लेख गरेका छन ।

नेकपाका अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव काँग्रेस सभापति शेरबहादुर देउवासँग सिधै भने नगरेको बुझिएको छ । ‘यो विषयमा उहाँ (पुष्पकमल दाहाल)ले प्रस्ताव गरेको विषयमा पत्रकार विजय कुमार पाण्डेसँग कुरा हुँदा सभापति ज्यू (शेरबहादुर देउवा)ले विचारणीय हुनसक्छ भन्नु भएको हो,’  अक्षरपार्टीसँग कुरा गर्दै काँग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘नेकपाका अध्यक्ष दाहालसँग सिधा फोनमा कुराकानी भएको छैन । प्रस्ताव गरिएको कुरा विचारणीय हुनसक्छ भन्नुभएको हो ।’

संकटका बेला सत्तारुढ दलका अध्यक्ष प्रचण्डले राखेको प्रस्तावलाई सकारात्मक हुनसक्छ । तर उक्त संयन्त्रमा प्रमुख प्रतिपक्षी दलसँगै अन्य दल, स्वतन्त्र नागरिक समाज, बुद्धिजीवीसमेत समेटिनुपर्ने र संयन्त्र अधिकार सम्पन्न हुनुपर्ने देखिन्छ । सरकार अधिनस्थ रहेर बनाइएको संयन्त्र फेरि पनि आलोचित नहोला भन्न सकिँदैन ।