लकडाउनमा गोदावरीकी उपमेयरसहित ४१ ले गरे रक्तदान

ललितपुर । लकडाउनका बेला आम नागरिकको हिडडुल बन्न भएपछि अस्पतालमा हुनसक्ने रगतको अभावलाई कम गर्न शुक्रबार ललितपुरमा रक्तदान गरिएको छ । गोदावरी नगरपालिका १० टाहाखेलमा भएको रक्तदानमा गोदावरी नगरपालिकाकी उममेयर मुना अधिकारीसहित ४१ जनाले रक्तदान गरेका छन ।

कांग्रेस ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का क्षेत्रीय कोषाध्यक्ष शेखर न्यौपानेको अगुवाईमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण देश पुरै लकडाउन भएका बेला विभिन्न अस्पतालमा सेवा लिने बिरामीका लागि रगतको अभाव हुन नदिन रक्तदानको व्यवस्थापन गरिएको न्यौपानेले बताए ।

नेपाल रेडक्रस सोसाइटी र लाइन्स क्लबको सहयोगमा भएको रक्तदान कार्यक्रममा गोदावरी नगरपालिका १० का वडा अध्यक्ष दर्शनकुमार विष्टको समेत सहभागीता थियो ।