विश्वभर कोरोना संक्रमणबाट एक लाख २६० को मृत्यु, साढे १६ लाख संक्रमित, तीन लाख ६९ हजार निको

भारतमा मृत्यु हुनेको संख्या २२७ पुग्यो

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख २६० जनाको मृत्यु भएको छ । १६ लाख ४७ हजार ६३५ भन्दा बढी संक्रमित भएका छन । शुक्रबार बेलुकीसम्मको यो तथ्यांक अनुसार आजसम्म संक्रमित मध्ये ३ लाख ६९ हजार ११६ जनाको उपचारपछि निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या इटालीमा छ । यहाँ करिब १८ हजार तीन सयले ज्यान गुमाएका छन । इटालीमा संक्रमण १ लाख ४३ हजारभन्दा बढीमा देखिएको छ, करिब साढे २८ हजार निको भएका छन । त्यसपछि सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा कबिर १७ हजारको मृत्यु भएको छ । यहाँ ४ लाख ७० हजर मानिस संक्रमित भएका छन । स्पेनमा मृत्यु हुनेको संख्या साढे १५ हजार पुगेको छ भने यहाँ एक लाख ५३ हजार संक्रमित छन । करिब ५२ हजार निको भएका छन ।

फ्रान्समा पनि ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । यहाँ १२ हजार तीन सयले ज्यान गुमाएका छन भने एक लाख २० हजारमा संक्रमण देखिएको छ । बेलायतमा करिब ८ हजारले ज्यान गुमाएका छन भने यहाँ ६५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । इरानमा ४ हजारभन्दा बढीको ज्यान गएको छ भने संक्रमणको सुरुवात भएको चीनमा मर्नेको संख्या ३ हजार ३३६ मा रोकिएको छ । नेदरल्यान्ड्समा मर्नेको संख्या साढे दुई हजार हाराहारी पुगको छ भने बाँकी देशमा एक हजारभन्दा कम नागरिकको मृत्यु भएको छ ।

भारतमा मृत्यु हुनेको संख्या २२७ पुग्यो
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या ६ हजार सात सय २५ नाघेको छ । कोरोनाबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ । यहाँ एक हजार तीन सय ६४ जना कोरोनाबाट संक्रमित छन् । मृत्यु हुनेमध्ये ९८ जना महाराष्ट्रकै छन ।