सबैको ध्यान कोरोनामा, सामान्य उपचार पनि प्रभावित, जाजरकोटमा रक्तश्रावका कारण सुत्केरीको मृत्यु

जाजरकोट । यतिबेला सबैको ध्यान कोरोना भाइरस संक्रमणको त्रास र यसबाट बन्चे उपायमा केन्द्रित भएको छ । तर दूरदराजमा रहेका मानिसको नियमित स्वास्थ्य मात्र होइन यतिबेला सहरबजारकै मानिसको स्वास्थ्य प्रभावित भएको छ । सामान्य र गम्भिर प्रकृतिका बिरामी अस्पताल जानै डराउने र गइहालेमा अस्पतालले उपचार गर्नै नमान्ने समस्या भोग्दै आएका समाचार आइरहेका छन ।

यस्तै जाजरकोटमा एक सुत्केरी महिलाको ज्यान गएको छ । सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको हो ।

शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिएकी छिन ।

असुरक्षितरूपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको कार्कीले बताइन ।

मृतक रोकायले तेस्रो बच्चा जन्म दिएकी थिइन् । आमाको मृत्यु भए पनि छोरी स्वास्थ र राम्रो भएको बताइएको छ ।