सुदूरपश्चिममा १६ सय ९५ नमुना संकलन, दुई सय ५९ को नतिजा नेगेटि नमूना नेगेटिभ

धनगढी । देशभरमै सबैभन्दा जोखिममा रहेको मानिएको सुदूरपश्चिममा चैत ४ पति कोरोना संक्रमण भएको नयाँ बिरामी फेला परेको छैन । प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शंकास्पद एक हजार ६ सय ९५ व्यक्तिको नमूना संकलन गरिएको र तीमध्ये दुई सय ५९ नमूनाको नतिजा नेगेटिभ आएको छ ।

शुक्रबार आयोजित ‘कोभिड–१९ मिडया ब्रिफिङ’ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले संकलित नमूनामध्ये एक हजार चार सय ३२ नमूनाको नतिजा आउन बाँकी रहेको जानकारी दिएका थिए ।

प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोरनाको सङ्क्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

शुक्रबारसम्म आरडिटी टेष्ट किटबाट कैलालीका चार सय ८९, कञ्चनपुरका एक सय ३७ र डोटीका दुई सय १३ जनाको रगतको नमूना परीक्षण जाँच गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्कीले बताए ।

क्वारेन्टाइनमा बसेका सबैको आरडिटी माध्यमद्वारा रगतको नमूना जाँच गर्ने योजना छ । नमूना जाँचमा पोजेटिभ नतिजा आउनेको स्वाब संकलन गरी परीक्षण गरिने जनाइएको छ ।

थपिदै क्वारेन्टाइनमा बस्नेहरु

प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वारेन्टाइनमा शंकास्पद बिरामी थपिने क्रम बढ्दै गएको छ । शुक्रबारसम्म जम्मा ५६ बालबालिकासहित दुई हजार पाँच सय १३ क्वारेन्टाइनमा बसेका छन् । बिहीबारसम्म क्वोरेन्टाइनमा ५६ बालबालिकासहित दुई हजार चार सय ६६ बसेको तथ्यांक थियो । यस्तै बिहीबारसम्म १७ विभिन्न अस्पतालको आइसोलेसनमा बसेकोमा शुक्रबार दुई जना थपिएका छन् । आइसोलेसनमा बसेकामध्ये ५८ सामान्य उपचारपछि फर्किको जनाइएको छ ।