लकडाउन अझै केही साता लम्बिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै केही साता लम्बिने बताएका छन । शनिबार सात प्रदेशका मुख्यमन्त्रीसँग कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरेका हुन ।

सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुन अनिवार्य रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले भने, ‘भारतमा सङ्क्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु ।’

उनले ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न’ आग्रह गरे । यो व्यंग्यात्मक भनाइलाई आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित भएको अनुमान गर्न सकिन्छ । दाहालले एक मिडियालाई दिएको अन्र्तवार्ताामा उच्चस्तरीय संयन्त्र निर्माणको धारणा राखेका थिए । उनले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताउनुभयो

लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुनेमा जोड दिँदै उनले मेला लाग्ने तथा मान्छे जम्मा हुने आदि क्रियाकलाप रोक्न प्रशासन र प्रहरी सजग हुनैपर्ने निर्देशन दिए । उनले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरे ।

प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नरहेको स्पष्ट पार्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको दावी गरे । उनले अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध गरे ।

कोरोना सङ्क्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि ओलीले बताए ।

करिब चार घण्टाभन्दा चलेको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका पहल र स्थितिबारे जानकारी गराएका थिए ।