धनगढीमा चार हजार १ सय ६७ परिवारलाई राहत

धनगढी । लकडाउनका कारण दैनिक जीवन चलाउनै समस्या परेका विभिन्न परिवारलाई धनगढी उप–महानगरपालिकाले राहत वितरण गरिरहेको छ । लकडाउनका कारण छाक टार्न समस्या भएका चार हजार १ सय ६७ परिवारलाई खाद्यान्न वितरण गरेको धनगढी उम महानगरपालिकाका मेयर नृपबहादुर वडले जानकारी दिए ।

नगरको बिपद ब्यबस्थापन समितिका अनुसार वडाहरुमा वडास्तरीय राहत वितरण समितिले पठाएको बिवरणका आधारमा छाक टार्न समस्या भएका दैनिक ज्यादादारी काम गरेर खाने मजदुर, असहाय, एकल महिला, भाडामा डेरा गरेर बस्ने विद्यार्थीले राहत पाएका हुन । वडामा रहेको सर्वदलीय सर्वपक्षीय राहत वितरण समितिले छनौट गरेर पठाएका ब्यक्तिले नै राहत पाईरहेको बताईएको छ ।

उप–महानगरपालिकाको वडा नं १ मा ७ सय ५४, वडा नं २ मा २ सय ९०, वडा नं ३ मा २ सय ४०, वडा नं ४ मा ४ सय ४४, वडा नं ५ मा ३ सय, वडा नं ६ मा १ सय ५०, वडा नं ७ मा २ सय, वडा नं ८ मा ५ सय, वडा नं ९ मा ७५, वडा नं १० मा ८०, वडा नं ११ मा १ सय ३०, वडा नं १२ मा ४ सय ८७ र वडा नं १३ मा १ सय परिवारले राहत पाएको विवरण छ ।

त्यस्तै वडा नं १४ मा राहत वितरणको विवरण प्राप्त भैरहेको बताईएको छ । वडा नं १५ मा १ सय २२, वडा नं १६ मा ६०, वडा नं १७ मा १ सय ३५, वडा नं १८ मा ५० र वडा नं १९ मा ५० परिवारले राहत बुझेको उप–महानगरको बिपद ब्यबस्थापन समितिले जनाएको छ । यी घर परिवारहरुले ४१ हजार ६ सय ७५ किलो चामल, ५ हजार ८ सय ३४ किलो दाल, ४ हजार १ सय ६३ पोका तेल, ४ हजार २ सय १९ किलो नुन र तरकारीहरु प्राप्त गरेका छन् ।

धनगढी उप–महानगरपालिकाका प्रमुख वडले वडामा रहेको समितिले पठाएको बिवरणका आधारमा राहत वितरण भैरहेको अक्षरपाटीसँग बताए । राहत रकम छाक टार्न समस्या भएकाहरुका लागि हो नगरप्रमुख वडले भने, ‘खाद्यान्न किन्न सक्ने र घरमा जगेडा भएकाहरुले लोभ नगरिदिए राम्रो हुने थियो । स्थानीयलाई मात्रै नभएर भाडामा बसेका विद्यार्थी र अन्यत्रबाट आएर धनगढीमा डेरा गरी बस्ने मजदुर परिवारलाई पनि राहत दिएका छौं । को कहाँ डेरा बसेको छ भनेर जान्ने उपकरण हामीसँग छैन । त्यसैले समस्या भएकाले सम्वन्धीत वडा कार्यालयसंग समन्वय गर्न यस अघि नै अपील गरेका थियौ ।’

धनगढी उप–महानगरपालिकाले कसैलाई कुहिएको चामल नबाँडेको पनि मेयर वडले स्पस्ट पारे । ‘कतैबाट कुहिएको चामल लिएर उप–महानगरपालिकाले बाड्यो भन्नु बद्मासी हो ।’

धनगढी उप–महानगरपालिका बिपद ब्यबस्थापन समितिका संयोजक प्रेम सिंह बिकले राहतमा जिरा राईस कदापी दिन नसकिने बताए । कुहिएको चामल कसैलाई दिएका छैनौं, पोको पारेर दिएकाले पनि त्यस्तो चामल राहतमा पर्नै सक्दैन ।