नेपालमा थप तीन भारतीयमा कोरोना संक्रमण पुष्टि, भारतमा बढ्दै कोरोना कहर

काठमाडौं । वीरगञ्जमा तीन भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जमा नमुना संकलन गरि हेटौंडाको प्रयोगशालमा परीक्षण गर्दा पोजेटिभ आएपछि राष्ट्रिय प्रयोगशाला टेकुमा उनीहरुको नमुना थप परीक्षण गरिएको थियो ।

राष्ट्रिय प्रयोगशालमा पनि उनीहरुको परीक्षण पोजेटिभ देखिएको हो । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यहीबेलादेखि भारत फर्केका थिएनन । ३४ जना मध्ये ३३ जनाको नमुना संकलन गरिएको थियो ।

तीन जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन । संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीका रहेका छन । उनीहरु १३ दिनदेखि पर्साको विरगञ्जमा रहेको जामे मस्जिदमा आएका थिए ।

भारतमा बढ्दै कोरोना संक्रमण
उता भारतमा कोरोना भाइरसको कहर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा ९०९ नयाँ कोरोना संक्रमित फेला परेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो २४ घन्टामा थप ३४ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट आजसम्म ८ हजार ३५६ जना संक्रमित भएका छन । यसमध्ये ७ हजार ३६७ जना उपचारका क्रममा छन भने ७१६ जना निको भएर घर फर्किएका छन । आजसम्म मभारतमा कूल २७३ जनाको कोरोनाका कारण निधन भएको छ ।