कारोनाबाट विदशमा रहेका १४ नेपालीको मृत्यु, ६ सय ६५ संक्रमित

एजेन्सी । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण विदेशमा रहेका १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांक अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६ सय ६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।

विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली संघको शाखा तथा स्थानीय संघसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्यांक सार्वजनिक गरिएको उनले जनाएका छन ।

अमेरिकामा पाँच सय, बेलायतमा एकसय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक÷एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।