कोरोना कहरको उज्यालो संकेत

विशेष सम्पादकीय

लाग्छ यतिबेला संसार आराममा छ । कल, कारखाना, उद्योग, यातायात त के मानिसहरु पैदल समेत हिँडद बन्द गरेका छन । यो कुनै एक देश, एक भूगोलमा होइन । सिंगो संसार यतिबेला चुपचाप छ । मौन छ । कोरोना संक्रमणको त्रासले स्तब्ध छ । विज्ञहरुले त यसलाई तेस्रो विश्वयुद्धभन्दा पनि कठिन अवस्थाका रुपमा आंकलन गरेका छन ।

यो मौनता, यो सन्नाटा र विश्व जगत नै करिब लकडाउनका कारण यसले पार्ने आर्थिक कठिनाइका बाछिटाहरु मजदुर, गरिब र निमुखा वर्गमा देखिन थालिसकेको छ । तर विश्वजगतलाई नै आर्थिक मन्दीको मार पर्ने अनुमानहरुमाथि फेरि पनि गहन र मिहिन बहसहरु होलान । उपाए खोजिएलान ।

तर यो मौनता, चुपचापन, निश्क्रियताले पक्कै पनि कम मानिसहरुको ज्यान जानेछ भन्ने आसा र अपेक्षा नयाँ वर्ष २०७७ को यो घडीमा हामी गर्न सक्छौँ । ‘हरेक सिक्काका दुई पाटा’ भने झैँ । कोरोना भाइरस संक्रमणले गाँज्दै ल्याएको विश्व जगतमा अर्को सुखद र सुन्दर पक्ष भनेको वातावरणमा देखिएको सुन्दर परिवर्तन हो ।

अनुमान गरौँ आज कुनै महाशक्तिले ‘पृथ्वीलाई निकै भार भयो, प्रकृति निकै थकित भयो, त्यसैले सिंगो संसार दुई दिनका लागि बन्द गारौँ’ भनेको भए के यो दुनिया सहमत हुन्थ्यो होला ? पक्कै हुँदैन थियो । आग्रहहरु व्यक्ति व्यक्तिले तोड्न तयार हुन्थे ।

कारोना पक्कै मानव जातिका लागि बिडम्बना हो । विकराल अवस्था हो । यो भाइरसको संक्रमण जन्मनु हुँदैन थियो । दर्भाग्यवस जन्मियो । त्यसलाई रोक्न पनि हाम्रो बस चलिरहेको छैन । अनेकन ग्रहको खोजी गरेको विज्ञान पनि आज कोरोनाको उपचार खोज्न सकिरहेको छैन ।

यसले प्रकृतिभन्दा विज्ञान माथि छैन भन्ने सन्देश दिएको छ । वातावरण र भुगर्भविदहरुले भनिरहेका छन, ‘पृथ्वीको कम्पन अहिले ७० प्रतिशतसम्म कम भएको छ । कारण मानव क्रियाकलापले पृत्थ्वीमा पर्ने धक्काहरु रोखिएका छन ।’

ओजन तहमा पर्दै गरेका प्यालहरु प्रकृतिको सुद्धतासँगै टालिन थालेका छन । प्रदुषणका कारण दुर्बिनले पनि दूरदूरसम्म देख्न नसकिने दृश्यहरु अहिले आँखाले मात्रै सपाट देखिन थालेका छन । प्रकृति कवि भुपी शेरचनले भने झैँ, सरदको विहानी नुहाएर पारिलो घाम ताप्न बसेकी नवयौवना झैँ बनेको छ ।

यसको उदाहरणका रुपमा भारतको पञ्जावका एक नागरिक Soul of a Warrior @Deewaliaले ट्वीटमा भनेका छन, ‘३० वर्षपछि पञ्जावस्थित जालन्धरबाट हिमाञ्चलको धौलाधर माउन्टेन रेन्ज सपाट देखिएको छ । २०० किलोमिटर परको यो हिमाल प्रदुषण शून्यमा झर्नुको परिणाम हो ।’

हो, यतिबेला हामी लकडाउनको जिन्दगी बाँचिरहेका छौँ । दैनिकी कर्महरु रोकिएका छन । उत्पादनभन्दा खर्चको तुलना बढ्दै गएको छ । र पनि ‘बादलको किनारमा चाँदीको घेरा देख्नु’ जीवनको धर्म हो ।

कोरोना कहरले एउटा अर्को पाटोलाई पनि मजबुत बनाएको छ । विश्व प्रगतिको रफ्तारमा हुँइकिएका बेला, त्यही रफ्तारको थप पक्रन उद्धत हामी मानव समुदाय मानवीय कम ‘रोबोट’को नियतिमा बढी थियौँ । देश, समाज त के घरपरिवार नै दूरका दर्शकजस्ता हुँदै थियौँ । कोरोना महामरीले आज विश्वमा अपनत्वको माहोल निर्माण गरेको छ । दया, माया, स्नेह, आफन्त र परिवारप्रतिको साथ र सदभावलाई बलियो बनाएको छ ।

आज नयाँ वर्ष २०७७ को नयाँ दिन । नयाँ आसा गरौँ । नयाँ उमंग पालौँ । नयाँ अपेक्षा गरौँ । यो नयाँ दिनसँगै विज्ञान नयाँ खोज गर्न सफल हुनेछ । कोरोनाको कहरबाट विश्वजगत बाहिर आउने छ । त्यसबेला प्रकृतिको प्रदुषण शून्य भएर मानव क्रियाकलापकै कारण अनियमित बन्दै गएको प्रक्रितिको चक्र पुनः नियमित हुनेछ । विश्वजगत स्वच्छ, सफा र प्रदुषणरहित भएर मानव जातीमा लाग्ने अन्य रोगको भए कम हुनेछ ।

हामीले व्यहोरेको यो सन्तापले हाम्रा सन्तान, दरसन्तान सुखद जीवन बाँच्नेछन । यहि कामना सहितको शुभकामना !!