कोरोनाबाट संसारभर मृत्यु हुनेको संख्या १ लाख १७ हजार नाध्यो, अमेरिकामा मात्रै साढे २३ हजारको मृत्यु, भारतमा ३५१ को ज्यान गयो, नेपालमा १४ संक्रमित

एजेन्सी । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर मृतकको संख्या एक लाख १७ हजार ५५९ पुगेको छ । सङ्क्रमितको सङ्ख्या १८ लाख ८७ हजार २९२ पुगेको छ । विश्वभर संक्रमित मध्ये ४ लाख ३८ हजार ७२ जना निको भएर घर फर्किएका छन ।

विभिन्न स्रोतका अनुसार अमेरिकामा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या सोमबार साँझसम्म ६ लाख पुगको छ । अमेरिकामा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २३ हजार ५०९ पुगेको छ ।

यूरोपमा कूल सङ्क्रमितको सङ्ख्या आठ लाख ९१ हजार १०२ रहेको छ भने यहाँ ७७ हजार ६०१ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यूरोपको स्पेनमा सङ्क्रमितको सङ्ख्या सबैभन्दा बढी एक लाख ६९ हजार ४९६ रहेको छ । यूरोपेली मुलुक इटलीमा एक लाख ५६ हजार ३६३ जना सङ्क्रमित रहेका छन् भने यहाँ सङ्क्रमणका कारण १९ हजार ८९९ जनाको मृत्यु भएको छ ।

तेस्रो प्रभावित मुलुक फ्रान्समा कोभिड–१९ बाट एक लाख ३२ हजार ५९१ जना सङ्क्रमित रहेकोमा १४ हजार ३९३ जनाले ज्यान गुमाएका छन् । यहाँ निको भएर घर फर्किनेको सङ्ख्या २७ हजार १८६ रहेको छ ।

त्यस्तै जर्मनीमा एक लाख २७ हजार ८५४ सङ्क्रमित रहेका छन् भने यस सङ्क्रमणका कारण तीन हजार २२ जनाको मृत्यु भएको छ । जर्मनीमा निको भएर घर फर्किनेको सङ्ख्या ६४ हजार ३०० रहेको छ ।

यूरोपेली मुलुक संयुक्त अधिराज्य (बेलायत)मा सङ्क्रमित ८४ हजार २८९ रहेको छ भने यसका कारण मृत्यु भएकाको सङ्ख्या १० हजार ६१२ रहेको छ । अन्य बढी प्रभावित मुलुकहरूमा बेल्जियम, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड र रूस रहेका छन् ।

एसियामा कोभिड–१९बाट सङ्क्रमित हुनेको सङ्ख्या सोमबार साँझसम्म तीन लाख तीन हजार ४७ रहेको छ भने ११ हजार १९५ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या करिब साढे नौ हजार हाराहारी पुगेको छ भने यहाँ कोरोना संक्रमणबाट सोबार साँझसम्म ३५१ जनाको ज्यान गएको छ । नेपालमा सोमबार काठमाडौंमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १४ पुगेको छ ।