श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गयो

बाँके । बाँकेको वैजनाथ गाउँपालिका –२ नौबस्तामा श्रीमानको कुटाइबाट एक महिलाको निधन भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मृत्यु भएको हो ।

घाइते दिलमायालाई घटनाको तीन दिनपछि मंगलबार बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो । अस्पताल पुर्याइएको केहीबेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार मदिरा सेवनका विषयमा सामान्य विवाद हुँदा रिसको आवेगमा बलसिंहले श्रीमतीलाई धकेल्दा भित्तामा ठोक्किएर चोट लागेको थियो । तीन दिनसम्म पनि उपचार नपाएपछि दिलमायाको मृत्यु भएको हो । शव शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । अभियुक्त बलसिंहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।