कोरोनासँग जुध्ने गति बढाउन सरकारलाई काँग्रेसको सुझाव

काठमाडौं । काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेका बेला सरकारले लकडाउनको सयम थप्नु स्वभाविक भएको जनाएको छ । सङ्क्रमणलाई परास्त गर्न कोरोनासँग जुध्ने गति र सतर्कता बढाउनुपर्ने पनि काँग्रेसले सुझाव दिएको छ ।

कैयौँ देश लकडाउनका बाबजुद पनि कोरोनाको कहरमा परेको उल्लेख गर्दै काँग्रेसले यसबाट शिक्षा लिँदै, थपिएको पछिल्लो अवधिमा अघिल्लो चरणका कमजोरी नदोहोर्याएर सतर्कताको स्थितिलाई मजबुत बनाउन काँग्रेसले सरकारसँग अपिल गरेको छ ।

काँग्रेसले बुधबार वक्तव्यमार्फत वर्तमान परिस्थितिको गम्भीरताअनुसार आवश्यक मेडिकल सामग्रीको तत्काल आयात गर्नुपर्ने, परीक्षणको दायरा बढाउनुपर्ने र थप सतर्कता अपनाउन सरकार र समुदायको ध्यानाकर्षण गराएको छ ।

अत्यावश्यक मेडिकल सामग्री खरीद गर्ने या निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा ढिलाइ भइरहेको विषय काँग्रेसले गम्भीरतापूर्वक लिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उल्लेख गरेका छन । ‘पारदर्शी ढङ्गले कुन प्रक्रिया र माध्यमबाट ल्याउने, त्यो सरकारको अधिकार क्षेत्रको विषय हो । तर कोरोनाबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा सामग्रीको पर्याप्त बन्दोबस्त गर्न अब रत्तिभर ढिलाइ नगर्न हामी आग्रह गर्दछौँ,’ उनले भने ।

कोरोना परीक्षण गर्ने केन्द्रहरु विस्तार गरिनु सकारात्मक भएको तर ¥यापिड टेष्टको परिणाम भने विश्वव्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएको स्थितिमा नेपालले पिसिआर विधिको व्यापकता बढाउन काँग्रेसले सुझाव दिएको छ ।

नियमित उपचारमा प्रयोगमा रहेका अस्पतालमै कोरोना पनि परीक्षण र उपचार गर्ने काम जोखिमपूर्ण भएको शर्माले बताए । योसो गर्दा सङ्क्रमणले व्यापकता पाउन सक्ने अन्य देशको अनुभवले देखाएको पनि उनले बताए । आवश्यक वैकल्पिक बन्दोबस्त गर्न युद्धस्तरमा तयारी गर्नुपर्ने विकल्पको अर्को कुनै विकल्प सोच्न नहुने सुझाव विज्ञप्तिमा दिइएको छ ।

काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका एक परिवारका दुईजनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको घटनाले उब्जाएका प्रश्नलाई गम्भीरता साथ लिन काँग्रेसले अनुरोध गरेको छ ।

बेलायतबाट आएको २८ दिनपछि परीक्षण नेगेटिभ देखिनु तर नेगेटिभ देखिएका व्यक्तिहरुमा बाह्य लक्षण नदेखिनु, नेपालका सन्दर्भमा गम्भीर बिषय भएको उल्लेख गरिएको छ ।

लकडाउन शुरु हुनुभन्दा अघिल्लो हप्ता देशका विभिन्न नाकाबाट करीब दुई लाख नेपाली अव्यवस्थित रुपमा स्वदेश प्रवेश गरेका र प्रवेश गरेकामध्ये १५ प्रतिशतभन्दा कम मात्रै क्वारेन्टाइनमा बसेको देखिएको विज्ञप्तिमा उल्लेख छ । बाहिरबाट आएर गाउँमा छरिएका कोही कसैमा लक्षण नदेखिने रहेछ भने त्यसले भयावह स्थिति निर्माण गर्न सक्ने भन्दै काँग्रेसले चिन्ता व्यक्त गरेको छ ।

त्यसैले कोरोना परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदायसमक्ष पु¥याउन अनिवार्य रहेको प्रवक्ता शर्माले आग्रह गरे । गाउँ तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ काम गर्न अपिल काँग्रेसले अपिल गरेको छ ।