वारि आमा बितिन, पारि किरियाः शोकमा पनि देश टेक्न नपाएकोमा झन पीडा

दार्चुला । विश्व कोरोना भाइरसको सन्त्रासमा छ । संक्रमणको त्रासले करिब संसारभरकै मान्छे घरमा थुनिएर बस्न बाध्य छन । यो क्रममा कतिपय मानिस घर बाहिरै छन । कतिपय घर एकातिर आफू अर्कोतिरको अवस्थामा छन । अझ कोरोनाको त्रास फैलिएसँगै स्वदेश भित्रिन हिँडेका कतिपय नेपाली देसको सीमा पारि थुनिएर बस्न बाध्य छन ।

यसरी थुनिएकामध्ये शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटमा शोक मनाइ रहेका छन । त्यहाँ क्वारेन्टाइनमा बसेकै बेला मंगलबार वारि नेपालमा आमाको निधन भएपछि उनी क्वारेन्टाइनमै किरिया बस्न विवश भएका हुन ।

उनकी ६२ वर्षीया आमा गौमतीको घरमा निधन भयो । शोकमा पनि भारतीय क्वारेन्टाइनबाट जन्मभूमि नेपाल आउन नपाएपछि कालीपारि क्वारेन्टाइनमै उनी किरिया बस्न विवस भएका हुन ।

तीन महिनाअघि भारतमा मजदूरी गर्न गएका भट्ट लकडाउनपछि घर आउँदा धार्चुलामा अलपत्र परे । लकडाउन, आइसोलेसन, क्वारेन्टाइन, सामाजिक दूरी कहिल्यै नसुनेका भट्टले यही अवस्थाका कारण आमा मर्दा पनि घर आउन पाएका छैनन ।

मजदूरीका लागि भारतको काला पहाड गएका दाइ उतै रोकिएपछि आफू एक्लै घरमा रहेको उनका कान्छा भाइ सुनिलले बताएका छन । नयाँ वर्षमा घर आउने भन्दै बाँकी तीन दाइ मजदूरी गर्न भारत गएको उनले बताए । दुई दाइ भारतमै भए पनि वासुदेव घर आउन लाग्दा धार्चुलामा अड्किएका हुन ।

एकसरो लुगा र विशु पर्वका लागि आर्थिक उपार्जन गर्न गएका दाजु आमाको किरिया गर्न पनि देश प्रवेश गर्न नपाएपछि दाइ क्वारेन्टाइनमै र आफू एक्लै घरमा किरिया बसेको सुनिलले जनाएका छन ।

वासुदेव घर आउँदाआउँदै नेपाल–भारत दुवैतर्फ लकडाउन भएका कारण प्रवेशद्वारमा ताला लागेपछि उनी सीमामै रोकिएका छन । ुशोकमा पनि देश पस्न पाइएन, अहिले यतै आमाको किरिया बसेको छु,स वासुदेवले भने ।

आँगनदेउमै हुँदा पनि आफ्नो देश आउन नपाएका उनी आमाको शोक पनि सीमा पारि नै मनाउनुपर्दा निकै दुःखी छन । ७२ किलोमिटर टाढा रहेका वासुदेवले आमाको सत्गति गर्न घर पुग्न नपाएपछि उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य नेपाली पनि दुःखी छन ।